खेल


भदौदेखि रोकियो रंगशाला निर्माण, 'धुर्मुस'को गुनासो : १७ करोड ऋणको भारी छ, तिर्ने कसरी?

भदौदेखि रोकियो रंगशाला निर्माण, 'धुर्मुस'को गुनासो : १७ करोड ऋणको भारी छ, तिर्ने कसरी?

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार १६:२, काठमाडौँ

हास्यकलाकार एवम् सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनस्थित क्रिकेट रंगशाला निर्माणबाट नभागेको बताएका छन्। 

‘धुर्मुस सुन्तली फाउण्डेशन’को फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै धुर्मुसले चार महिनादेखि स्थगित परियोजनाबाट नभागेको बताएका हुन्। 

उनले यस परियोजनालई जसरी पनि सफल बनाउन पुनः सञ्चालन गर्न तयार रहेको पनि बताएका छन्। 

फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सहयोग नजुट्दा धेरै ऋण लागेको भन्दै काम रोकेको थियो। करिब ३५ प्रतिशत काम सकिएको बताउँदै फाउण्डेसनले १६ करोडभन्दा धेरै ऋण लागेकोले तत्काल रोक्नुपरेको जनाएको थियो। 

२०७५ माघ १६ गतेबाट रंगशाला निर्माण थालेको फाउण्डेसनले हालसम्म ५४ करोड रुपैयाँ खर्च भएको दाबी गरेको छ।

ऋण धेरै भएकाले थप उधारोमा कारोबार गर्न नसकिने भन्दै गत फाउण्डेसनले काम रोकेको थियो। रोकिएको काम अब छिट्टै सुरु गर्ने धुर्मुसले बताएका छन्। 

भिडियो

‘हामीले सरकारलाई आह्वान गरेको निकासका लागि हो। देशको सम्पत्ति बचाउन हो। देशको धरोहर बनिरहेको छ,’ उनले भनेका छन्, 'रंगशाला निर्माण अभियानमा फेरि एक पटक जुर्मुराएर लाग्नुछ।  अबको ६ महिनादेखि एक वर्षमा ३० हजार क्षमताको अन्तराष्ट्रिय रंगशाला निर्माण हुन सम्भव छ।'

उनले रंगशाला निर्माणका लागि अघि बढ्दा आश्वासन मात्रै धेरै पाएको उनले गुनासो गरे। पाएका साथ र हातहरु विस्तारै टुट्दै गएकाले तिनीहरुलाई जोड्ने प्रयास गरिरहेको धुर्मुसले बताएका छन्। 

उनले केही दिनमा नै रंगशाला निर्माणका प्रगति र खर्च विवरण सार्वजनिक गर्ने उनले बताए। 

‘संघीय, प्रदेश र स्थानीय सरकारलाई अब यसको अभिभावकत्व ग्रहण गर्न अनुरोध गर्छु,’ धुर्मुसले भने, ‘अब यसको निकास कसरी निकाल्ने? १७ करोड बढी ऋणको भारी बोकेर म हिँडिरहेको छु, हिँडिरहेका छौँ। स्थगित परियोजना छिटोभन्दा छिटो अघि बढ्ने विश्वासमा छु।’

उनले हिसाब पारदर्शी रहेको पनि बताएका छन्। 'कार्यविधि अन्तर्गत चलेका छौँ। लेखापरीक्षण पनि असारसम्मको भएको छ। केही दिनमा खर्च विवरण सार्वजनिक गर्छौँ', उनले भनेका छन्, 'हरेक टीकाटिप्पणीको जवाफ दिनेछौँ। हामीले रंगशाला बनाउन खोजेका हौँ। कोरोनाको महामारी, राजनीतिक उथलपुथल लगायतले सिकार बन्यौँ।'

उनले सरकारलाई परियोजना निर्माणका लागि अभिभावकत्व लिन आग्रह गरेका छन्। उनले सरकारको उपस्थितिमै परियोजना घोषणा गरेकाले रंगशाला निर्माण हुनु राष्ट्रको धरोहर निर्माण हुनुपर्ने बताए। यद्यपि, आफूहरु परियोजनाबाट टाढा हुन खोजेको नभएको उनले बताए।

'परियोजनाबाट हात झिकेको, टाढा भागेको, जिम्मेवारीबाट टाढा भागेको होइन। हामीले सरकारलाई, स्थानीय तहलाई, प्रदेश सरकारलाई निकासका लागि आह्वान गरेको हो,' उनले भने, 'यहाँ देशको सम्पत्ति बनिरहेको छ। राष्ट्रको धरोहर बनिरहेको छ। हाम्रै प्रतिस्था उच्च हुने काम भइरहेको छ। ३ हजार दर्शकले हेर्न सक्ने प्याराफिट बनेको छ। मैदान बनेको छ। पिच तयार भए अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ।'

परियोजनाको काम हेर्न उनले रंगशालमै निम्ता दिएका छन्। 'एकपटक फेरि जुर्मुराउने हो भने अबको ६ महिना देखि १ वर्षभित्रमा नेपालमा पहिलो पटक ३० हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नेछ,' उनले भने, 'काम रंगशालामा आएर हेरिदिनुहोला।'

फायण्डेसनले यसअघि २०७७ फागुनमा काम र खर्च विवरण सार्वजनिक गरेको थियो। रंगशालाको कुल लागत डीपीआर रिपोर्ट आइसकेपछि ३ अर्ब ५५ करोड थियो। 

तर २०७७ सम्ममा परियोजनका लागि ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा मात्रै उठ्यो। त्यसबेलासम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको थियो। 

११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋणात्मक रहेकाले अपेक्षित रुपमा निर्माण अघि बढाउन नसकिएको उनले बताएका छन्। 

फाउण्डेसनले परियोजना निर्णाणमा कुल लागतको ९.१० प्रतिशत मात्रै संकलन भएको फाउण्डेसनले जनाएको छ। क्रिकेट मैदानको काम ८५ प्रतिशत पूरा भएको फाउन्डेनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad