लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ।
पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए।
‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ’, संयोजक चन्दले भने, ‘खेलकुद विकास त मुख्य उद्देश्य हो। यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ।’
अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो। १५ वर्षदेखि अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
विश्व किर्तिमानी खेलाडी धावक हरिबहादुर रोकायाको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर’ निर्माण गरेको अन्तरालले जनआन्दोलनसम्बन्धी पुस्तक ‘जनता उठेपछि’ प्रकाशन गरेको छ ।
नेपालगन्ज गोल्डकप फुटबलको व्यवस्थापन गर्दै आएको अन्तरालसँग अन्तर बैंक फुटबल, इन्डो नेपाल गेम्स, दोस्रो राष्ट्रिय बिच भलिबल लगायतका खेलकुद र ठुला कर्पोरेट इभेन्ट्समा व्यवस्थापन सम्हालेको अनुभव छ ।
यसैगरी पश्चिम नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झन्डा महोत्सव गर्दै आएको छ ।
रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
म्याराथनमा सहकार्य र सहभागिताका लागि अन्तरालले सबैसँग आग्रह गरेको छ ।
Shares

प्रतिक्रिया