इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलोपटक टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
नेपाली समयानुसार बुधबार राति यूएईको अबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा भएको सेमिफाइनल प्रतिस्पर्धामा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराएको हो।
फाइनल प्रवेश गरेको न्युजिल्यान्ड उपाधिका लागि अब पाकिस्तान र अस्ट्रेलियाबीच हुने सेमिफाइनल खेल जसले जित्छ ऊसँग भिड्नेछ। फाइनल खेल भने यही नोभेम्बर १४ मा हुँदै छ।
बुधबार रातिकाे सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य न्युजिल्यान्डले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो।
सुरुवाती ब्याटिङमा उत्रिएको इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ५१ रन बनाए भने दाविद मलानले ४१, जोस बट्लरले २९, लियम लिभिङस्टोनले १७ र जोन्नी बेयरस्टोले १३ रन जोडे।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउदी, एडम मिल्न, इश सोदी र जिम्मी निशमले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डका ड्यारिल मिचेलले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए भने डेभोन कोनवेले ४६ र जिम्मी निशमले २७ रन जोडे।
इंग्ल्यान्डका क्रिस ओक्स र लियम लिभिङस्टोनले २/२ विकेट लिँदा अदिल रासिदले १ विकेट लिए।
Shares

प्रतिक्रिया