आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर १२ को समूह चरणको अन्तिम खेलमा भारतले नामिबियामाथि ९ विकेटको जित हात पारेको छ। यसअघि नै सेमिफाइनलको दौडबाट बाहिरिएको भारतले नामिबियाले दिएको १३३ रनको लक्ष्य २८ बल बाँकी छँदै पूरा गरेको हो।
सोमबार भएको खेलमा भारतलाई जित दिलाउने क्रममा भारतका केएल राहुल र रोहित शर्माले अर्धशतक प्रहार गरे। यसअघि नामिबियालाई कम स्कोरमा रोक्ने क्रममा रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिएका थिए।
त्यस्तै जसप्रित बुमराहले २ विकेट लिए। नामिबियाका लागि डेभिड विसेले २६ र स्टेफन बार्डले २१ रन बनाउनुबाहेक कुनै पनि खेलाडीले २० रन कटाउन सकेनन्।
नामिबियाले पहिलोपटक टी–२० विश्वकप खेलेको हो। यसपटकको विश्वकपमा उसले नेदरल्याण्ड्स, आयरल्याण्ड र स्कटल्याण्डलाई पराजित गरेको छ।
विश्वकपमा बुधबारदेखि सेमिफाइनलको खेल सुरु हुनेछ। बुधबार पहिलो सेमिफाइनलमा इंगल्याण्ड र न्युजिल्याण्डको खेल हुनेछ।
Shares

प्रतिक्रिया