आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ।
यो जितसँगै अष्ट्रेलिया सेमिफाइनल नजिक पुगेको छ। सुपर-१२ अन्तर्गत समूह १ को खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्टायो।
अष्ट्रेलियालाई चौथो जित दिलाउन डेभिड वार्नरले ५६ बलमा ९ चौका र ४ छक्का हान्दै सर्वाधिक ८९ रन बनाए।
मिचेल मार्सले ५३ रन बनाए। वेस्ट इन्डिजका अकिल होसेन र क्रिस गेलले एक–एक विकेट लिए।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। उसका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रन बनाए।
इभिन लेविसले २९ र सिमरोन हिटमेयरले २७ रन बनाए।
अष्ट्रेलियाका जोश ह्याजलउडले सर्वाधिक ४ विकेट झारे। मिचेल स्टार्क, प्याट कमिङस र एडम जाम्पाले समान एक-एक विकेट लिन सफल भए।
यो जितपछि अष्ट्रेलियाले पाँचमध्ये चार खेलमा जित निकाल्दै ८ अंक बनाएको छ। इंग्ल्यान्डले चार खेलमा ८ अंक बनाएको छ। इङल्यान्डले शनिबार राति दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछ। नेट रनरेटमा इंग्ल्यान्ड अष्ट्रेलियाभन्दा अगाडि छ।
इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको नतिजाले सेमिफाइनल पुग्ने टोलीको टुंगो गर्नेछ।
Shares

प्रतिक्रिया