चीनकी टेनिस स्टार पेङ शुईले एक जना वरिष्ठ कम्युनिस्ट नेताविरुद्ध आफूलाई यौन उत्पीडन गरेको आरोप लगाएकी छन्।
चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोस्ट गर्दै टेनिस खेलाडी पेङले पूर्व उपप्रधानमन्त्री झाङ गाओलीले आफूलाई यौन सम्पर्क गर्न बाध्य पारेको दाबी गरेकी हुन्।
चीनमा पहिलोपटक कम्युनिस्ट पार्टीका वरिष्ठ नेतालाई यति गम्भीर आरोप लागेको हाे।
उक्त आरोप लगाएपश्चात् डबल्समा नम्बर १ खेलाडी पेङ सुईबारे चीनभित्र ‘इन्टरनेट सर्च’ पनि सीमित गराइएको छ।
आरोप लागेका झाङ गाओली भने टेनिस स्टारको दाबीप्रति अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
सन् २०१३ देखि २०१८ सम्म चीनका उपप्रधानमन्त्री रहेका झाङ गाओली चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट सहयोगी हुन्।
के लेखेकी छन् टेनिस स्टार पेङले सामाजिक सञ्जालमा?
टेनिस खेलाडी पेङले आफ्नो पोस्टमा भनेकी छन्, ‘उपप्रधानमन्त्री झाङ गाओली, मलाई थाहा छ– तपाईंजस्तो प्रतिष्ठित व्यक्तिले म डराउँदिनँ भन्नुहुनेछ। तर ढुंगामा ढुंगा हानेजस्तै किन नहोस्, म तपाईंको बारेमा सत्य बताउनेछु।’
पेङले सामाजिक सञ्जालमा झाङले टेनिस खेल्न बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाएको आरोप लगाएकी छन्।
अगाडि लेखेकी छन्, ‘त्यस दिन मैले तपाईंलाई सहमति दिएको थिइनँ, म एकोहोरो रोइरहेकी थिएँ। तपाईंले आफ्नो घर लानुभयो र मलाई पुनः सम्बन्ध राख्न विवश पार्नुभयो।’
तर यस विषयमा आफूले प्रमाण दिन नसक्ने पनि पेङले बताएकी छन्।
उनले लेखेकी छन्, ‘मसँग कुनै प्रमाण भने छैन। र, कुनै प्रमाण जुटाउन असम्भव थियो किनकि तपाईं सधैं मैले टेप रेकर्डरजस्ता केही लिएर आउँछ कि, प्रमाण संकलन गर्छ कि भनेर निकै डराउनुहुन्थ्यो। यसले गर्दा मसँग कुनै अडिओ, भिडिओ रेकर्ड छैन। मसँग मात्र मात्र वास्तविक अनुभव छ।’
Shares

प्रतिक्रिया