ad ad

खेल


विश्वकप खेल्ने सपना पछ्याउँदै महिला क्रिकेट टोली

विश्वकप खेल्ने सपना पछ्याउँदै महिला क्रिकेट टोली

लक्ष्मी जि.सी
कात्तिक १४, २०७८ आइतबार ६:५२, काठमाडौँ

सन् २०२३ मा दक्षिण अफ्रिकामा आईसीसी टी–२० विश्वकप हुँदै छ। विश्वकप खेल्ने सपना पछ्याउँदै नेपाली टोली एसिया छनोटका लागि अन्तिम तयारीमा जुटेको छ। 

महिलाका दुईवटा घरेलु प्रतियोगिता भए पनि कोरोना महामारीका कारण अन्य कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता भएनन्।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारी गरिरहेको छ। दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली टोलीले कुनै पनि प्रतियोगिता खेलेको छैन। 

नेपाली टोली दसैँपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रशिक्षणमा जुटेको थियो। मुख्य प्रशिक्षक जगत टमाटाले स्पिन अलराउन्डर कविता जोशीलाई पहिलोपटक टोलीमा समावेश गर्दै एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन्। 

एसिया छनोट मलेसियामा नोभेम्बर २२ देखि २८ सम्म हुँदै छ। जसमा नेपालसहित भुटान, कुवेत, म्यानमार, मलेसिया र संयुक्त अरब इमिरेन्ट्स (यूएई) गरी ६ देशको सहभागिता रहनेछ।

सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउनेछ। महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ। त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपका लागि छनोट हुनेछन्।

मलेसियामा हुने एसिया छनोटमा नेपाली टोलीलाई मुख्य दाबेदारका रुपमा हेरिएको छ। तर दुई वर्षयता मैदान नउत्रिएकाले खेलाडीहरुको लयमा भने चिन्ता छ। 

कोराना महामारी पूर्ण रुपमा नियन्त्रणमा आइनसक्दा पनि महिला खेलाडीले प्रधानमन्त्री कप र मेयर्स कपमा प्रतिस्पर्धा गर्ने अवसर भने पाएका थिए। त्यसबाहेक अधिकांश खेलाडीले आफूलाई फिट भने राख्न प्रयास गरेको कप्तान रुविना क्षेत्री बताउँछिन्। 

उनी मलेसिया जाने टोलीमा सिनियर र जुनियर खेलाडी रहेकोले टोली सन्तुलित रहेको विश्वास गर्छिन्। 

‘हामीले टोली बनाउँदा पनि अलराउन्डर, फास्ट बलर, सबै खेलाडीलाई मिलाएर बनाएका छौँ,’ उनले भनिन्, ‘अहिले राम्रा राम्रा नयाँ खेलाडी पनि आएका छन्। मेयर्स कप र प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्ने खेलाडी छन्।’

रुविना आफूले नेतृत्व गरेको टोलीको प्रशिक्षण र तयारीका आधारमा ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो रहेको मान्छिन्। 

उनले थपिन्, ‘मलेसियामा हामीले खेल्नुपर्ने टोलीलाई यसअघि पनि हराइसकेका छौं। त्यसैले यसपटक पनि त्यस्तै निरन्तरताको अपेक्षा छ। हाम्रो लक्ष्य पनि त्यही हो। यद्दपि अन्य टोलीको तयारी कस्तो छ र कस्तो प्रदर्शन गर्छन् त्यसको जानकारी छैन भन्दा हुन्छ।’

दशकयता टोलीको कप्तानी गरिरहेकी रुबिना व्यक्तिगत रुपमा आफूलाई पनि महत्वपूर्ण प्रतियोगिता मान्छिन्।

खेल जीवनको उत्तरार्धमा रहेकी रुबिनाले भनिन् ‘व्यक्तिगत रुपमा पनि यो मेरो करियरकै ठूलो प्रतियोगिता हो। अब खेल्नका लागि समय पनि छैन, मेरो लागि जिन्दगीकै ठूलो प्रतियोगिता हो। हामी सिनियर खेलाडीहरुले यसलाई मनन गरेर तयारी गरिरहेका थियौँ।’

दुई घरेलु प्रतियोगिताले नयाँ खेलाडीको आगमन भएको र त्यसले टोलीको छनोटका लागि सघाउ पुगेको मुख्य प्रशिक्षक टमाटाले बताउँछन्। उनले एसिया छनोटलाई मुख्य चुनौतीकै रुपमा लिइएको र त्यहीअनुसार तयारी गर्ने प्रयास गरेको सुनाए।

विपक्षीलाई सम्मान दिएर खेल्ने जनाउँदै टमाटा भन्छन्, ‘कुनै पनि प्रतियोगिता वा टोली ठूलो सानो भन्ने हुँदैन। खेल्न आउने टोली राम्रो भएर नै आउने हो। त्यसले हामी कसैलाई पनि सहज रुपमा लिने छैनौं।’ 

नयाँ खेलाडी कविता जोशीबाट टमाटा आशावादी छन्। भन्छन्, ‘उनी टोलीको महत्वपूर्ण खेलाडी हुन सक्छिन्।’

यसअघि सन् २०१९ मा भएको छनोट प्रतियोगितामा थाइल्याण्डसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै थियो। तर यसपटक आफूहरु इतिहास बनाउनका लागि खेल्ने टमाटाको दृढता छ। 

उनले थपे, ‘पहिलोको भन्दा राम्रो टोली बनाएका छौँ। खेलाडीले पनि मिहिनत गरेका छन्। पक्कै पनि प्रदर्शन सुध्रिनेमा आशावादी छौं।’

नेपाल क्रिकेट संघ (क्यान) ले आफूमाथि विश्वास गरेर टोलीको जिम्मेवारी दिएको प्रसंग कोट्याउँदै टमाटाले भने, ‘त्यसैले व्यक्तिगत रुपमा मलाई पनि चुनौती छ। हाम्रा लागि प्रदर्शन र नतिजा दुवै उत्तिकै महत्वपूर्ण छन्। हामी त्यसैमा केन्द्रित भएर तयारी गरिरहेका छौैं। खेलाडी पनि उत्साहित छन्। हामी विश्वकपमा नेपालको झण्डा फरफराउन चाहान्छौँ। त्यसको पहिलो खुड्किलो एसिया कप पार गर्नुपर्नेछ।’

छनोट प्रतियोगिता खेल्नुअघि मेलेसियामा केही अभ्यास खेल खेल्ने सम्भावना रहेको मुख्य प्रशिक्षक टमाटाले जानकारी दिए। स्पिन अलराउन्डर कविता जोशीले पहिलोपटक स्थान बनाउँदा विकेटकिपर ज्याति पाण्डे, स्पिनर संगिता राई र सबनम राईले पूनरागमन गरेका छन्।

टोलीकी अर्की सदस्य इन्दु बर्माले तयारी सन्तोजनक भइरहेको बताइन्। पहिला इन्डोर प्रशिक्षण गरेका थियौ, उनले भनिन्, जसले खुलेर प्रर्दशन गर्न पाएका थिएनौं। अहिले मैदानमा राम्रो प्रशिक्षण भैरहेको छ। उनी आफ्नो टोलीलाई तुलानात्मक रुपमा बलियो मान्छिन्सँगै यूएईलाई पनि कमजोर आक्न नमिल्ने बताउँछन्।

खेलाडी करुणा भण्डारी हरेक खेल उत्तिकै महत्वपूर्ण हुने बताउँछिन्। 

‘कोरोनाका कारण क्रिकेटलाई असर त पर्यो नै। त्यसका बाबजुद दुई वटा घरेलु प्रतियोगिता भयो,’ उनले भनिन्, ‘त्यसले हामीलाई तयार रहिरहन मद्दत गर्यो। विश्वकप छनोटमा पुग्ने हाम्रा लागि ठूलो अवसर हो। त्यसका लागि हामी हरसम्भव प्रयास गर्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .