आईसीसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा क्यारेबियन टोली वेस्ट इन्डिजले पहिलो जित दर्ता गरेको छ।
सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई ३ रनले पराजित गर्दै वेस्ट इन्डिजले पहिलो जित दर्ता गर्न सफल भएको हो।
वेस्ट इन्डिजले पहिले व्याटिङ गर्दै १ सय ४३ रनको लक्ष्य दिएपछि जवाफी व्याटिङमा उत्रिएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाउन सक्यो।
पराजित बंगलादेशका लिटोन दासले सर्वाधिक ४४ रनको पारी खेले। उसका कप्तान महमुदउल्लाहले अविजित ३१ रनको स्कोर गरे। सौम्य सरकार र मोहमद नाइमले १७/१७ रन बनाए।
विजयी वेस्ट इन्डिजका रवि रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले १/१ विकेट झार्न सफल भए।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो।
वेस्ट इन्डिजका निकोलस पुरनले ४० रनको स्कोर गरे। रोस्टन चेसले ३९ रन बनाए। जासन होल्डरले अविजित १५ रनको पारी खेले। कप्तान केइरन पोलार्ड १४ रन बनाउँदा बाहिरिए।
बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट झारे। बंगलादेशलाई हराएपछि वेस्ट इन्डिजले ३ खेलबाट २ अंक बनायो। वेस्ट इन्डिज समूह १ को पाँचौ स्थानमा छ।
तर उता बंगलादेशको विश्वकप यात्रा लगातार पीडादायी भएको छ। उसले लगातार तेस्रो हार भोगेको छ। अंक जोड्न असफल ऊ समूहको पुच्छरमा छ। यससँगै बंगलादेश समूह चरणबाटै घर फर्किने पक्का भएको छ।
Shares

प्रतिक्रिया