चीनले अर्को सूचना नआउँदासम्मको लागि बेइजिङ म्याराथन स्थगित गर्ने निर्णय गरेको छ। पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जारी रहेको भन्दै चीनले बेइजिङ म्याराथन स्थगित गर्ने निर्णय गरेको हो। चिनियाँ विशेषज्ञले चीनमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिन सक्ने चेतावनी दिएसँगै यो स्थानीय प्रतियोगिता राेकिएको हो ।
चीनले पछिल्लो एक सातामा ११ प्रान्तमा १३३ नयाँ संक्रमित भेटिएको बताएको छ। उनीहरु सबैमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट पाइएको छ।
अक्टोबर ३१ मा हुन गइरहेको बेइजिङ म्याराथनमा करिब ३० हजार मानिस सहभागी हुने अपेक्षा थियो। यो चीनको सबैभन्दा ठूलो स्थानीय प्रतियोगितामध्येको एक हो। म्याराथन आयोजकले कोरोना महामारीको संक्रमण नियन्त्रणको लागि यो प्रतियोगिता स्थगित गर्नु परेको बताएका छन्।
अहिले चीनमा स्थानीय टोलीले अर्को प्रान्त तथा सहरमा भ्रमण गरेको कारण संक्रमण फैलिएको हुन सक्ने बताइएको छ। कोरोना संक्रमण नियन्त्रणमा चीन सफल देखिँदै आएको छ। चीनले मुलुकमा संक्रमण फैलिन नदिन लगाइएको विभिन्न प्रतिबन्ध कायमै छ।
Shares

प्रतिक्रिया