खेल


चिरप्रतिद्वन्द्वी भारतविरुद्ध पाकिस्तानको शानदार जित

चिरप्रतिद्वन्द्वी भारतविरुद्ध पाकिस्तानको शानदार जित

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार २३:१५, काठमाडौँ

मोहम्मद रिजवान र बाबर अजामको विष्फोटक ब्याटिङमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ। विश्वकप क्रिकेटमा २९ वर्षपछि पाकिस्तानले भारतलाई हराएको हो।

आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत सुपर-१२ समूह 'बी' को आइतवार भएको खेलमा पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवार राति भएको खेलमा पाकिस्तानले शत्रुतापूर्ण सम्बन्ध रहेको भारतलाई हराउँदै विश्वकपमा १२ खेलसम्मको हारको श्रृंखला टुङ्ग्याएको हो। 

पाकिस्तानले भारतसँगको पाँच टी-२० विश्वकप र ७ एकदिवसीय विश्वकप गरि जम्मा १२ खेलको हारपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ।

पाकिस्तानले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रनको मध्यम योगफल तयार पारेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १७.५ ओभर खेल्दै बिना क्षति भारतविरुद्ध बहुप्रतिक्षित जित दर्ता गराउन सफल भएको हो। 

पाकिस्तानलाई जिताउने क्रममा ओपनरहरू मोहम्मद रिजवान र बबर अजमले सतकीय साझेदारी गरे। उनीहरु दुवैले सम्हालिएर खेलेपछि भारतका कुनै बलरको केही चल्न सकेन।

पाकिस्तानलाई जिताउने क्रममा बबर अजमले ५२ बलमा ६३ रनको गतिलो पारी खेले। उनले आफ्नो पारीमा ६ चौका र २ छक्का पनि हाने।

त्यस्तै उनलाई साथ दिएका अर्का ओपनर मोहम्मद रिजवानले ५५ बलमा ७९ रन बनाए। उनले ६ चौका र ३ छक्का पनि हाने।

भारत र पाकिस्तानबीचको खेललाई प्रतिष्ठाको लडाइँको रुपमा पनि लिने गरिन्छ। राजनीतिक रुपमा पनि शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीचका हरेक क्रिकेट भिडन्त एक युद्ध बराबर हुन्छ। 

क्रिकेट इतिहासमा पाकिस्तानभन्दा भारत बलियो टोली हो। यद्यपि पाकिस्तान पनि कमजोर होइन। त्यही कुरा प्रमाणित गर्दै वान डे र टि-२० विश्वकपका १२ खेलमा व्यहोरेको हारमाथि पूर्णविराम लगाउँदै पाकिस्तानले जित निकालेको हो। 

भारतको पारी 

भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रनको मध्यम योगफल तयार पारेको थियो।

त्यसक्रममा भारतीय कप्तान विराट कोहलीले ५७ रन बनाए। उनी क्याच आउट भएका थिए। त्यसैगरी रिसभ पन्त ३९, रवीन्द्र जडेजा १३ र हार्दिक पाण्डेयले ११ रन थपे। 

भारतका ओपनर केएल राहुल केवल ३ रनमै पवेलियन फर्किए। अर्का ओपनर रोहित शर्मा गोल्डेन डक आउट भए। 

भुवनेश्वर कुमार ५ र मोहम्मद सामी शून्य रनमा नटआउट रहे। सुरुमै दबाबमा परेको भारतले अन्तिममा राम्रो स्कोर गरेर रन उकासेको थियो।

भारतले अन्तिम ५ ओभरमा ५१ रन बनाउन सफल भएपछि पाकिस्तानले मध्य चुनौती पाएको थियो।

बलिङमा पाकिस्तानका सहिन शा अफ्रिदीले ३ विकेट लिएका थिए। उनले आफ्नो स्पेलमा ३१ रन खर्चिए। 

त्यसैगरी हसन अलीले २ तथा सादब खान र हरिस रौफले एक एक विकेट लिन सफल भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad