नेदरल्यान्डमाथि सानदार जित निकाल्दै श्रीलंका समुह ए को विजेता बन्दै आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा स्थान बनाएको छ।
नेदरल्यान्डलाई ८ विकेटले पराजित गरेको श्रीलंका सुपर १२ मा समुह ए मा रहनेछ। समुह ए मा अपराजित रहेको श्रीलंका ६ अंकमा शीर्ष स्थानमा रहँदै सुपर १२ मा पुगेको हो।
नामिबिया २ खेलमा जित र १ मा हार व्यहोर्दै ४ अंकका साथ सुपर १२ मा पुग्यो। सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका छन्।
सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता नामिबिया छ।
सुपर १२ बाट दुवै समूहका शीर्ष दुई गरि ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सुपर १२ का खेलहरु भने शनिबार देखि सुरु हुनेछ।
नेदरल्याण्डले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। श्रीलंकाका कुशल परेरा ३३ र आविस्का फर्नान्डो २ रनमा नटआउट रहे। चारिथ असलंका ६ रन र पाथुम निसंका शून्यमा आउट भए।
त्यसअघि शारजाह क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भयो।
नेदरल्याण्डस्का कोलिन एक्रमनले बनाएको ११ रन नै सर्वाधिक रह्यो। अन्य १० खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा र लाहिरु कुमाराले समान ३ विकेट झारे। महेश थेक्सनाले २ तथा दुश्मन्था चामिराले एक् विकेट लिए।
टि२० विश्वकप इतिहासमा यो दोस्रो कम योगफल हो। यसअघि २०१४ को टि२० विश्वकपमा नेदरल्यान्ड् श्रीलंकासँग नै १०.३ ओभरमा ३९ रनमा अल आउट भएको थियो।
त्यसअघि २०१४ मा नै न्युजिल्यान्ड श्रीलंकासँग १५.३ ओभरमा ६० रनमा अल आउट भएको थियो।
Shares

प्रतिक्रिया