आयरल्याण्डलाई पराजित गर्दै नामिबियाले आईसीसी टि२० विश्वकप २०२१ को सुपर १२ मा स्थान बनाएको छ।
शुक्रबार भएको खेलमा नामिबियाले आयरल्यान्डलाई ८ विकेटले हराउँदै सुपर १२ मा स्थान पक्का गरेको हो।
योसँगै नामिबिया सुपर १२ को समूह बी मा रहनेछ। नामिबियाले सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका रहनेछन्। सुपर १२ का शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
आयरल्याण्डले दिएको १ सय २६ रनको लक्ष्य नामिबियाले १८.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नामिबियाका कप्तान गेरहार्ड इरास्मस ५३ डेविड विसे २८ रनमा नटआउट रहे। ओपनरजेन ग्रीन २४ र क्रेग विलियम्स १५ रनमा क्याच आउट भए। आयरल्यान्डका कर्टिस क्याम्फरले २ विकेट लिए।
त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २५ रनको योगफल तयार पारेको थियो।
आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ३८ रन बनाए। केभिन ओ ब्रायनले २५ रन थपे। कप्तान एण्डीले २१ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नामिबियाका जान फ्रिलिंकले सर्वाधिक ३ विकेट लिए।
Shares

प्रतिक्रिया