ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिडविरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याच हेर्नबाट निषेध गरिएको बताएका छन्।
आइतबार सार्वजनिक भिडिओमा राष्ट्रपतिले आफूलाई म्याचस्थलमा प्रवेश गर्नबाट बञ्चित गरिएको बताएका हुन्। उनले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबीसमेत गरेका छन्। ‘किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहन्छु,’ उनले भने।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदा मनाइरहेका छन्।
ब्राजिलका नेताले कोरोनाभाइरसविरुद्धको खोपप्रति शङ्का व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन।
राष्ट्रपति बोल्सोनारो जुलाई २०२० मा कोरोना भाइरसबाट संक्रमित भएका थिए। संक्रमित भएपछि केही हप्ता क्वारेन्टिनमा बसेर उनी नियमित काममा फर्किएका थिए। राष्ट्रपति बोल्सोनारो लकडाउनको एक कट्टरविरोधी पनि हुन्। उनी माक्स पनि लगाउँदैनन्। एजेन्सी
Shares

प्रतिक्रिया