माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतको कमजोर प्रदर्शनले नेपाललाई फाइनल पुग्न सजिलो भएको छ।
साफ इतिहासमा अहिलेसम्म फाइनल पुग्न नसकेको नेपालले पहिलो पटक उपाधिको सपना देखिरहेको छ।
बिहीबार भएका दुई खेलमै नेपाललाई फाइनल यात्रा सहज हुने नतिजा निस्किएको छ।
पहिलो खेलमा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोक्न सफल भयो।
अर्कातिर आयोजक माल्दिभ्सले बंगलादेशलाई २-० ले हराएपछि नेपाललाई फाइनल पुग्ने बाटो सहज बनेको हो।
समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले आइतबार भारतसँग खेल्ने तालिका छ।
साफ च्याम्पियनसिपको तयारीकै क्रममा नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
पहिलो मैत्रीपूर्ण खेलमा भारतलाई १-१ गोलको बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा २–१ को प्रतिस्पर्धात्मक हार भोगेको थियो।
नेपालले अब बलिया टोली भारत र बंगलादेशसँग खेल्न बाँकी छ। फिफा वरियतामा भारत १ सय ७ औँ स्थानमा छ। बंगलादेश १ सय ९ औँ स्थानमा छ। नेपाल १ सय ६ औँ स्थानमा छ।
नेपालले अब लिग चरणका एक खेलमा मात्रै जित निकाले पनि शीर्ष स्थानमा रहेर पहिलो पटक फाइनल खेल्ने पक्का हुनेछ।
दुवै खेलमा जित निकालेमा नेपाल ऐतिहासिक जितसहित उपाधि नजिक पुग्नेछ। नेपाल भारतसँग पराजित भए पनि बंगलादेशसँग बराबरी गरे फाइनलमा पुग्नेछ।
आइतबार नै हुने पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराए वा माल्दिभ्स र श्रीलंकाको खेल बराबरी भएमा पनि नेपाल फाइनल पुग्नेछ।
साफमा लिग चरणको अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्नेछन्। त्यस खेलले पनि नेपालको अंक तालिकामा केही प्रभाव भने पर्नेछ।
अंक तालिका
साफको अंक तालिकामा नेपाल ६ अंकमा शीर्ष स्थानमा छ।
२ खेलबाट जित निकालेको नेपाल अपराजित छ। एक खेलमा जित, एकमा बराबरी र एक खेल गुमाएको बंगलादेश ४ अंकमा दोस्रो स्थानमा छ।
आयोजक माल्दिभ्स १ खेलमा जित र एक खेलमा हार भाग्दै ३ अंकमा छ।
लिग चरणको दुवै खेलमा बराबरी गरेको भारत २ अंकमा चौथो र एक खेलमा बराबरी र दुई खेलमा हार भोगेको श्रीलंका १ अंकमा तालिकाको अन्तिममा छ।
Shares

प्रतिक्रिया