युरो कप फुटबल च्याम्पियन इटालीको विजय यात्रालाई ३७ खेलपछि स्पेनले टुङ्ग्याइदिएको छ।
बुधबार राति भएको युइएफए नेशन्स लिग फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि भएको भिडन्तमा स्पेनले इटालीलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
बुधबार राति खेलको ४१ औँ मिनेटमै लियोनार्दो बोनुचीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित इटालीलाई हराउन दुवै गोल युवा स्ट्राइकर फेरान टोरेसले गरे।
खेलको १७ औँ मिनेटमा टोरेसको गोलबाट स्पेनले अग्रता बनाएको थियो। त्यसपछि टोरेसले नै खेलको पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपेपछि स्पेन २-१ ले अघि बढ्यो।
पहिलो हाफमै १० खेलाडीमा झरेर दबाबमा परेको इटालीले दोस्रो हाफमा एक गोल मात्रै फर्काउन सक्यो। उसका लागि खेलको ८३ औँ मिनेटमा इटालीका लोरेन्जो पेलिग्रिनीले एक गोल फर्काएका थिए।
स्पेनसँग पराजित भएपछि इटालीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ भने नेशन्स कपबाट सेमिफाइनलदेखि बाहिरिएको छ।
अब स्पेनले उपाधिका लागि फाइनलमा बेल्जियम र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल भिडन्तका विजेतासँग खेल्नेछ।
इटालीको यात्रा
स्पेनसँग २-१ ले पराजित हुनुअघि इटालीले ३७ खेलसम्म पराजय भोगेको थिए। उसले ३७ खेलमध्ये २८ मा जित निकालेको थियो भने ९ मा बराबरी गरेको थियो।
इटालीले सन् २०१८ मा सेप्टेम्बर १० मा पोर्चुगलसँग हारेयता कुनै खेल गुमाएको थिएन। यसबीचमा उसले इङ्ग्ल्यान्डलाई उसकै घरमा हराउँदै युरो कपको उपाधि पनि जितेको थियो।


Shares

प्रतिक्रिया