छैटौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लब र महिलातर्फको उपाधि होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले उचालेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलमा पुरुषतर्फ आर्मीले टिप टप हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
पहिलो सेटमा २६-२४ ले जित निकालेको आर्मीले दोस्रो सेट १७-२५ गुमायो। तेस्रो सेट २५-१८ आफनो पक्षमा पारेको आर्मीले चौथो तथा अन्तिम सेटमा ३३-३१ को रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो।
उपाधिसँगै आर्मीले ४ लाख रुपैयाँ जितेको छ। उपविजेता हेल्प नेपालले २ लाख रुपैयाँमा चित्त बुझाएको छ। तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ प्राप्त गर्यो।
शनिबारै भएको महिलातर्फको फाइनलमा प्रतिद्वन्द्वी एपीएफ क्लबलाई हराउँदै होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको छ।
डायमण्डले एपीएफ क्लबलाई ३-१ को सेटमा पाखा लगायो। डायमण्डले एपीएफलाई २४-२६, २५-२१, २५-१७ र २५-१५ ले पराजित गरेको हो।
उपाधिसँगै डायमण्डले ४ लाख रुपैयाँ पाएको छ। दोस्रो भएको एपीएफले २ लाख तथा तेस्रो भएको त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गरेको छ।
तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पुलिस क्लबलाई हराएको हो। च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोलीले चैतमा हुने लिगका लागि छनोट हुनेछन्।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पारेका छन्। विधागततर्फका विजेताले जनही १० हजार रुपैयाँ पाएका छन्।
विधागत विजेता
सर्वोत्कृष्ट खेलाडी-प्रतिभा माली (महिला -न्यू डायमण्ड), मानबहादुर श्रेष्ठ (पुरुष-आर्मी)
स्पाइकर -शान्ति थारु (महिला-आर्मी), विनित कुमार (पुरुष -हेल्प नेपाल)
ब्लकर -सरस्वती चौधरी (महिला -एपीएफ), हरि अधिकारी (पुरुष-आर्मी)
सेटर -अरुणा शाही (महिला -न्यू डायमण्ड), इम बहादुर राना (पुरुष -पुलिस)
सर्भर -संगम महतो (महिला-आर्मी), दुर्गा बहादुर खड्का (पुरुष-आर्मी)
लिवेरो -सलिना श्रेष्ठ (महिला-न्यू डायमण्ड), विनोद चन्द (पुरुष -एपीएफ)
प्रशिक्षक -कुमार राई (महिला-न्यू डायमण्ड) र जगत सिंह (पुरुष-आर्मी)

Shares

प्रतिक्रिया