ad ad

खेल


यी विदेशी खेलाडीले भर्दै छन् ईपीएलमा रंग

यी विदेशी खेलाडीले भर्दै छन् ईपीएलमा रंग

लक्ष्मी जि.सी
असोज ६, २०७८ बुधबार १४:३६, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (ईपीएल) पछिल्लो समय विदेशी खेलाडीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। 

कोरोना महामारीका कारण झण्डै डेढ वर्ष रोकिएको फ्रेन्चाइज क्रिकेट लिग ईपीएल शनिबारदेखि सुरु हुँदै छ।

दुई साता चल्ने क्रिकेटका लागि विदेशी  खेलाडी आउने क्रम पनि सुरु भइसकेको छ।

ईपीएलमा केही ठूला नामका विदेशी खेलाडीहरू आउने भएपछि फ्रेन्चाइज क्रिकेट थप रौनक बनेको छ। 

विदेशी खेलाडीको सहभागिताका कारण प्रचारका हिसाबले पनि यसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा पाउँछ।

ईपीएलमा सहभागी हुने ६ वटै फ्रेन्चाइज टोलीले आफ्नो विदेशी खेलाडी सार्वजनिक गरिसकेका छन्। 

ईपीएल असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। ईपीएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

नेपालमा यतिबेला फ्रेन्चाइज क्रिकेट लोकप्रियताको शिखरमा छ। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको समयमा पनि फ्रेन्चाइज क्रिकेट हुँदा यसले घरेलु क्रिकेटलाई चलायमान त बनाइराख्यो नै खेलाडीहरूलाई आम्दानीको गतिलो स्रोत पनि बन्यो। 

अझ विदेशी खेलाडीको सहभागिता नेपाली खेलाडीका लागि सिक्ने मौका मात्रै हैन, अन्तर्राष्ट्रिय एक्स्पोजरको पनि गतिलो माध्यम बन्ने गरेको छ। 

नेपालमा फ्रेन्चाइज लिगको आकर्षण बढिरहँदा विदेशी स्टार खेलाडीहरूको ध्यान पनि यसले तान्न सफल भएको छ।

आयोजकले जसरी फ्रेन्चाइज लिगमा लगानी गरेका छन्। त्यसको प्रतिफल नेपाली खेलाडीले मज्जैले पाएका छन्।

कोभिड १९ को महामारीले तंग्रिएको खेल क्षेत्र जुर्मुराउने प्रयास भइरहँदा कोरोनाकै कारण स्थगित इन्डियन प्रिमियर लिग आईपीएल पनि आइतबार बाट सुरु भइसकेको छ। कोरोनाकै कारण नेपालमा पनि रोकिएको ईपीएल शनिबारबाट सुरु हुँदै छ।

विदेशी खेलाडीलाई घरेलु मैदानमा नै हेर्नका लागि नेपाली क्रिकेटप्रमी लालायित छन्। ईपीएलमा नाम चलेका राम्रा खेलाडीहरू आएर खेलेको इतिहास छ भने आयोजकले त्यसलाई थप उचाइमा लैजान अझै मिहिनेत गरिरहेको छ।

अफ्रिदीदेखि इकवालसम्म : कुन टोलीमा को? 
यो पटक ईपीएलमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीदेखि बगंलादेशका उत्कृष्ट ब्याट्सम्यान तमिम इकवालसम्मका खेलाडी नेपाली मैदानमा उत्रिँदै छन्।

योपटक चितवन टाइगर्सले अफगानिस्तानका २३ वर्षीय ब्याट्सम्यान करिम जन्नतदेखि श्रीलंकाका सिकुगे प्रसन्न, अफगानिस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका दानिस अजिज, मलेसियाका विरनदीप सिंहलाई अनुबन्ध गरेको छ।

२२ वर्षीय विरनदीप एसोसियट राष्टका उदाउँदा खेलाडी हुन्। विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो मलेसियाली खेलाडी बनेका विरनदीप गत वैशाखमा नेपालमा भएको त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट खेल प्रस्तुत गरेका थिए।

नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा ५३ बलमा ६ चौका र ६ छक्कासहित ८७ रनको उत्कृष्ट इनिङ खेलेका थिए। जसको कारण ईपीएल फ्रेन्चाइज टोलीको नजर उनीमाथि परेको थियो। 

पार्टटाइम स्पिन विरनदीप विकेटकिपर ब्याट्सम्यान समेत हुन्। विरनदीपले २५ टी२० आई खेलमा ६ सय ८४ रन बनाएका छन्।

चितवनमा सोमपाल कामीसँगै दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहरा स्वदेशी खेलाडी छन्।

भैरहवा ग्ल्याडियटर्सले यो सिजन मलेसियाका अलराण्डर युवा स्टार शार्विन मुनिआन्दी, श्रीलंका पूर्वकप्तान तथा ओपनर उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसाद, बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाललाई अनुबन्ध गरेको छ।

३२ वर्षीय बायाँहाते ब्याट्सम्यान तमिमले ६४ टेस्ट, २ सय १९ ओडीआई, ७८ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। । तमिमसँग २ सय २९ टी२० खेलको अनुभव छ।

तमिमले टी२० आईमा १ शतक र ७ अर्धशतक सहित १ हजार ७ सय ५८ रन बनाएका छन्। उनी बंगलादेशबाट टी२० आईमा शतक प्रहार गर्ने पहिलो र एक्लो क्रिकेटर हुन्।  

सन्  २०१६ को टी२० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १ सय ३ रनको अविजित शतकीय इनिङ्ससहित इतिहास रचेका थिए ।

भैरहवाको कप्तानी शरद भेषावकरले गर्नेछन्। टोलीमा युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु दत्त लगायतका खेलाडी छन्। 

काठमाडौं किंग्स इलेभेनले यो संस्करण अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान तथा विकेट किपर रहमुल्लाह गुरवाजदेखि सिंगापुरका युवा तीव्र गतिका बलर जनक प्रकाश, जिम्बावेका रयान बर्ल र पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ। 

अफ्रिदी नेपाल आउन लागेका ठूला नामका अलराउन्डर हुन्। ४१ वर्षीय अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित छन्। अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडीआई, ९९ टी२० आई र ३ सय २६ टी२० खेल खेलेका छन्।

सन् २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका अफ्रिदीले टी२० मा १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन्। 

ओडीआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए। ओडीआईमा शतक प्रहार गर्ने अफ्रिदी कान्छा खेलाडी बनेका थिए। उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए। 

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिने काठमाडौं दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन्। 

चौथो संस्करणको ईपीएलका लागि पोखरा राइनोजले गत वर्ष माघमा क्रिस गेललाई ल्याउनका लागि औपचारिक सम्झौता गरेको थियो। 

तर चैतमा हुनुपर्ने ईपीएल कोरोना कारण स्थगित भएपछि गेल सहभागी हुनेछैनन्। त्यसो त गेलले सबैखाले क्रिकेटबाट संन्यास लिँदै आफ्नो बुट थन्क्याएका छन्। 

गत वर्ष ईपीएलका लागि दक्षिण अफ्रिकाका रिचर्ड लेभी, वेष्ट इण्डिजका केस्रिक विलियम्स, श्रीलंकमा बायाँ हाते युवा ब्याट्सम्यान सहान अराचिगे र असेला गुणरत्नेलाई अनुबन्ध गरेको छ। 

गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडीआई र १२ टी२० आई खेलेका छन्। टी२० आईमा २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन्। पार्टटाइम मिडियम पेश बलिङ गर्ने गुणरत्नेले मध्यक्रम र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन्। 

७५ टी२० खेलमा उनले ९ अर्धशतकसहित १ हजार ३ सय ९८ रन बनाएका छन्। 

पोखराले श्रीलंकाकै बायाँहाते युवा ब्याट्सम्यान तथा स्पिनर सहान अर्चिगेलाई अनुबन्ध गरेको छ। उनले २८ प्रथम श्रेणी, ३१ लिष्ट ए र ३४ टी२० खेलेका छन्।  

पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही लगायतका स्वदेशी खेलाडी छन्।  

विराटनगर वारियर्सले ईपीएलका लागि जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका बलर रयानखान पठान, वेस्टइन्डिजका शीर्षक्रमका ब्याट्सम्यान हेमराज चन्द्रपाउल र श्रीलंका ओपनर ब्याट्सम्यान दिल्सान मुनावीरालाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ। 

विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा ३२ वर्षीय दिल्सान मुनावीरालाई अनुबन्ध गरेको हो। दिल्सानले श्रीलंकाबाट १३ टी२० आई र २ ओडीआई खेल खेलेका छन्। टी२० आई खेलमा उनले एक अर्धशतक सहित कुल २ सय १५ रन बनाएका छन्। 

यस्तै  बायाँ हाते ओपनर चन्द्रपाउलले ६ ओडीआई, ३१ प्रथम श्रेणी, ४० लिष्ट ए र ३० टी२० खेल खेलेका छन्। 

स्वदेशी खेलाडीको रुपमा विराटनगरमा करण केसी, आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर), सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी, रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव छन्। 

ललितपुर प्याट्रियट्सले यो संस्करणको लागि भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई र श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ब्याट्सम्यान ओसाडा फर्नान्डोलाई अनुबन्ध गरेको छ। 

२८ वर्षीय सन्दुनले श्रीलंकाबाट ३ ओडीआईमा ७३ रन बनाएका छन्। उनले २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध ओडीआईमा डेब्यू गरेका उनले ६५ प्रथम श्रेणी, ७४ लिष्ट ए र ४२ टी२० खेल खेलेका छन्। 

टी२० खेलमा उनले ५ सय ७४ रन बनाएका छा्। 

यस्तै ललितपुरमा २१ वर्षीय अफगानी अलराउन्डर आजमतुल्लाहलाई टोलीमा भित्र्याएको छ । मध्यगतिमा बलिङ गर्ने उनले तल्लोक्रममा ब्याटिङ क्षमता राख्छन्। 

ललितपुरमा ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, विभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सूर्य तामाङ स्वदेशी खेलाडीको रुपमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .