म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ।
आइतबार राति लन्डन स्टेडियममा भएको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले गोल गरेपछि युनाइटेडले वेष्ट ह्यामलाई २–१ ले पराजित गरेको हो।
युनाइटेडले १–० ले पछि परेको स्थिती उल्टाउँदै जित निकालेको हो।
खेलको ३०औं मिनेटमा सेड बेनरहमाले गोल गर्दै घरेलु टोली वेष्ट ह्यामलाई १–० ले अग्रता दिलाएका थिए। उनले जारोड बोओनको पासमा गोल गरेका थिए। तर त्यसको चार मिनेट पछि नै युनाइटेडका रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलको ८९ मिनेटमा जेसे लिंगार्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को स्थितीमा ल्याए।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा वेस्ट ह्यामले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा बराबरी गर्नबाट चुक्न पुग्यो।
नोबलको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड डे हेयाले बचाएपछि वेष्ट ह्याम हार भोग्न बाध्य भयो।
जितसँगै युनाइटेडले ५ खेलबाट १३ अंक जोड्दै तेस्रो स्थानमा छ। पराजित वेस्टह्याम ८ अंकमा आठौं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई २–१ ले पाखा लगाएको छ। ब्राइटनको जितमा निल मोउपे र ड्यानी वेलवेकले गोल गरे। लेस्टरका जेमी भार्डीले एक गोल फर्काए।
Shares

प्रतिक्रिया