लियोनल मेस्सी, केलियन एम्बापे र नेयरमार एकसाथ मैदान उत्रेको खेलमा पीएसजी बराबरीमा रोकिएको छ।
युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा क्लव ब्रुगले हेभिवेट पीएसजीलाई बराबरीमा रोकेको छ।
बुधबार राति भएको समूह ‘ए’ को खेलमा ब्रुगले पीएसजीलाई एक एक गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो। तिनै खेलाडी एकसाथ मैदान उत्रेको खेल हेर्न करिव २९ हजार दर्शक मैदान पुगेका थिए।
खेलको १५ औ मिनेटमा आन्दर हरेराले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। एम्बापेको पासमा हरेराले गोल गर्न सफल भएका थिए। तर खेलको २७ औँ मिनेटमा भनाकेनले गोल गर्दै ब्रुगलाई बराबरीमा ल्याए। त्यसपछि खेलमा थप गोल हुन सकेन र दुवै टोलीले अंक बाँडे।
समूह ‘ए’ कै अर्को खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिगलाई ६–३ को फराकिलो अन्तरले पाखा लगाएको छ। सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले गोल गर्दा एक गोल उपहार पाएको थियो। लाइप्जिगका क्रिस्टोफोर एनकुकुले ह्याट्रिक पुरा गरेपनि हार टार्न सकेन।
एन्जलेलिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लाइप्जिग ७९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। जितसँगै सिटीले ३ अंक जोडेको छ।
समूह ‘डी’ को खेलमा पहिलो पटक च्याम्पियन्स लिग खेलेको साख्तर डोनेस्क एफसी सेरिफसँग २–० ले पराजित भएको छ।
समूह ‘डी’ कै अर्को खेलमा इटालियन च्याम्पियन इन्टर मिलान स्पेनिस क्लब रियल मड्रिडसँग १–० ले पराजित भएको छ। यो समूहमा सेरिफ र रियलले तिन तिन अंक जोडेका छन्।
Shares

प्रतिक्रिया