नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द यतिबेला इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका छन्।
उनी त्यहाँको लिग फुटबलमा व्यस्त रहेकाले नेपाली टिमका लागि खेल्न पाएनन्।
आइतवार रोहित सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा २-२ गोलको बराबरी खेलेको छ।
सुरुमै गरेका दुई गोलको अग्रता जोगाउन नसकेपछि जकार्ता बराबरीमा रोकिन बाध्य भएको हो।
पहिलो हाफको इन्जुरी समयमा ओटाभियो दुत्राले गोल गरेपछि जकार्ता १-० ले अघि बढेको थियो।
त्यसपछि दोस्रो हाफमा जकार्ताले अर्को गोल थप्यो। खेलको ५० औं मिनेटमा मार्को सिमिचले गोल गरेपछि जकार्ताको अग्रता २-० भयो।
२ गोलको अग्रतलाई जकर्ताले जोगाउन सकेन। खेलको ७२ औँ मिनेटमा हरि नुर युलियान्टोले गोल गरेपछि पीएसआईएस खेलमा फर्कियो।
जकार्ताको अग्रता २-१ को स्थितिमा झरेका बेला खेलको ८८ औं मिनेटमा रोहितले आत्मघाती गोल गर्न पुगे। त्यसपछि जकार्ता २-२ गोलको बराबरीमा रोकिन बाध्य भयो।
यो बराबरीपछि जकार्ता लिगका २ खेलबाट २ अंकमा सीमित छ। उता पीएसआईएसले भने २ खेलबाट ४ अंक बनाउन सफल भएको छ।
Shares

प्रतिक्रिया