राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग आगामी मंसिर १ देखि पुस २ सम्म आयोजना हुने भएको छ।
भलिबल खेललाई व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना हुनलागेको हो।
प्रतियोगिता आयोजनाबारे आज नेपाल सुपर लिग भलिबल (महिला तथा पुरुष) फ्रेन्चाइज लिगको सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको हो।
सुपर लिगमा सात प्रदेशका सात÷सात महिला र पुरुष टोली गरी कुल १४ टोली सहभागी हुनेछन्।

नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले लिगमाफृत भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै लैजाने उद्देश्यले प्रतियोगिता गर्न लागेको बताएका छन्।
संघ र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगितामा आआफ्नो जिम्मेवारी पूरा गर्नेछन्। यसअनुसार नेपाल स्पोर्ट्सले प्रतियोगिता गर्न आवश्यक सबै खर्चको व्यवस्थापन गर्नेछ भने संघले जनशक्ति कभर्डहल, विदेशी र स्वदेशी खेलाडीको व्यवस्थासहितका प्राविधिक जिम्मेवारी पूरा गर्नेछ।
त्यस्तै नेपाल स्पोर्ट्सले भलिबल खेल थप विकास र विस्तारको लागि संघलाई हरेक वर्ष आयोजना हुने एनभीए क्लब च्याम्पियनसिप (महिला तथा पुरुष) को प्रतियोगिताको लागि पनि सहयोग गर्ने समझदारी भएको छ।
लिग आयोजनाबाट हुने नाफाको ३० प्रतिशत थप सहयोग नेपाल भलिबल संघले पाउने बताइएको छ।

भलिबल सुपर लिगको दोस्रो संकरणदेखि भने होम एन्ड अवेको आधारमा नेपालका विभिन्न सहरमा समेत आयोजना हुने बताइएको छ।
यसअघि पनि संघले भारतीय कम्पनीसँग फ्रेन्चाइज भलिबलको लागि १० वर्षे सम्झौता गरेको थियो। तर त्यो लिग १ वर्षमात्र भएको थियो।
Shares

प्रतिक्रिया