काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग अन्तर्गत इलिमिनेटरमा विराटनगर टाइटन्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै क्याट क्वीन्स काठमाडौं फाइनलमा प्रवेश गरेको छ।
फाइनलमा काठमाडौंले चितवन राइनोजको सामना गर्ने भएको छ। राउण्ड रोविनको आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंक तालिकामा शीर्ष रहने टोली फाइनलमा पुग्ने प्रावधान अनुसार चितवन यसअघि नै फाइनल पुगिसकेको थियो।
त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको इलिमिनेटरमा विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले १०.४ ओभरमा १ विकेट गुमाएर भेटायो।
काठमाडौंकी कप्तान रुविना क्षेत्रीले अलराउण्ड प्रदर्शन गर्दै टोलीलाई जित दिलाइन। रुविनाले नटआउट ३४ रन जोडिन। यस्तै अप्सरी वेगमले २७ रनको पारी खेलिन।
त्यसअघि काठमाडौंकी कप्तान रुविना क्षेत्रीले घातक बलिङ गरेपछि टस जितेर ब्याटिङ गरेको विराटनगरले १७.३ ओभरमा सवै विकेट गुमाएर ६८ रनमात्रै जोड्न सक्यो।
विराटनगरकी ओपनर सोनु खड्काले ३४ रन जोडिन। २५ बल खेलेकी उनले ६ चौका प्रहार गरिन। यस्तै ज्योती पाण्डेले १२ र आरती विडारीले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।
काठमाडौंकी रुविनाले ४ ओभरमा १ ओभर मेडन राख्दै ४ रनमात्रै खर्चिएर ४ विकेट लिइन। यस्तै लक्ष्मी साउद, इश्वरी विष्ट र संगीता राईले १–१ विकेट लिइन।
क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा जारी प्रतियोगिता कार्तिक ७ गतेसम्म चल्नेछ । प्रतियोगितामा पाँच शहरका ५ टोलीहरु ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स छन् ।
विजेताले ७ लाख र उप विजेताले ३ लाख रुपैयाँमा प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया