ad ad

खेल


राष्ट्रिय टोली ‘मिस’ गर्दै ‘गाेल मेसिन’ साम्बा

राष्ट्रिय टोली ‘मिस’ गर्दै ‘गाेल मेसिन’ साम्बा

राष्ट्रिय जर्सीमा साम्बा बल अगाडि बढाउँदै।


लक्ष्मी जि.सी
भदौ १२, २०७८ शनिबार ११:५०, काठमाडौँ

सात वर्षयता पहिलो पटक महिला राष्ट्रिय फुटबल टोली मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छ। 

पाकिस्तानमा सन् २०१४ मा भएको साफ च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी साम्बा टाेलीमा नियमित सदस्य रहँदै आएकी छिन्। भुटानविरुद्धको ‘डेब्यु’ खेलमै गोल गरेर अघि बढेकी साम्बा यतिबेला भने चोटका कारण पहिलोपटक टोलीबाहिर छिन्। 

उपचारका क्रममा अहिले कतारमा रहेकी उनको गत असार ३१ गते घुँडाको शल्यक्रिया भयो। त्यसयता उनी रिह्याबमा समय बिताइरहेकी छिन्। 

साम्बा चोटमुक्त हुँदै गर्दा महिला टोलीले अर्को महिना उज्बेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्दै छ। टोली अहिले त्यसैको तयारीमा जुटेको छ।

प्रशिक्षक ग्यारी फिलिप्सले ७ नयाँ खेलाडीलाई समेट्दै टोलीको घोषणा पनि गरिसकेका छन्। तर चोटका कारण छनोट ‘मिस’ गर्नुपर्दा साम्बालाई भने नमज्जा लागेको छ। 

हाल उपचारका लागि कतारमा रहेकी साम्बाले भनिन्, ‘टोलीलाई एकदमै मिस भइरहेको छ। इतिहासमा पहिलो पटक नेपाली टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको थियौँ, नयाँ कोचबाट सिक्ने मौका गुमाउँदा एकदमै दुःख लागिरहेको छु।’ 

एसियन च्याम्पियनसिप अवसर र चुनौती दुवै भए पनि गुमाउनुपर्दाको पीडा उनमा स्पष्ट भेटिन्छ। 

‘यो पटक नयाँ प्रशिक्षक र नयाँ खेलाडीसँग धेरै कुरा सिक्न पाउने मौका थियो। त्यसमा विदेशी कोचले कसरी प्रशिक्षण गराउनु हुँदो रहेछ भन्ने कुरा सम्झिरहेको छु’, उनले भनिन्।  

अहिले कोरोना महामारीका कारण उमेर समूहका प्रतियोगिता नभएका बेला राष्ट्रिय टिममा नयाँ खेलाडीले स्थान बनाउनुलाई ठूलो कुरा भन्छिन् उनी। 

‘उनीहरुका लागि म्याच एक्सपेरियन्स बटुल्ने यो राम्रो मौका हो। अहिले टिममा नयाँ बहिनीहरु आएकाले पनि रिजल्ट पनि नयाँ आओस् भन्ने चाहन्छु’, उनले भनिन्। 

उनलाई दुःख लाग्नु त छँदै छ, उनीविना महत्त्वपूर्ण प्रतियोगिता खेल्न लागेको राष्ट्रिय टोलीले पनि साम्बालाई धेरै ‘मिस’ गरिरहेको छ। यसरी उनलाई ‘मिस’ गर्नुमा कारण पनि छ। 

साम्बा देशकी सर्वाधिक गोलकर्ता अर्थात् ‘गोल मेसिन’ नै हुन्। दुई वर्षअघि नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दौरान उनले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी थिइन्। उनको नाममा ३८ गोल छ। उनले सागमा अनु लामाको ३७ गोलको कीर्तिमानलाई तोडेकी हुन्।

एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई खेल जीवनमै पहिलो पटक गम्भीर चोट लागेको हो। फागुन ३ मा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा उनको दायाँ घुँडामा गम्भीर चोट लागेको थियो। चोट लाग्नुअघि लिगका १० खेलमा ४३ गोल गर्दै उनी लिगकै उत्कृष्ट फरवार्ड बनेकी थिइन्। 

त्यसयता कोरोनाका कारण महिलाको घरेलु फुटबल शून्यप्रायः छ। एसियन कप छनोटको तयारीमा टोली जुटिरहँदा उनी भने उपचारका लागि कतार पुगेकी थिइन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को पहल र कतार फुटबल संघको सहयोगमा उनको उपचार भइरहेको छ। सफल शल्यक्रियापछिको रिह्याबबाट साम्बा उत्साहित छिन्। 

‘सोचेभन्दा राम्रो रिकभर भइरहेको छ। डाक्टरहरुका अनुसार ९ महिनामा मैदानमा फर्किन सक्छु’, कतारबाट नेपालखबरसँग उनले भनिन्। 

‘साम्बाको कमी हुन दिँदैनौँ’
साम्बाले राष्ट्रिय टोली जति मिस गरिरहेकी छन्, टोलीका अन्य खेलाडीले पनि उनलाई त्यतिकै मिस गरिरहेका छन्। यसका बाबजुद उनको अनुपस्थितिमा पनि छनोटमा उच्च प्रदर्शनका लागि खेलाडीहरु दृढ देखिन्छन्।

राष्ट्रिय टोली र एपीएफमा साम्बासँगै खेल्दै आएकी सरु लिम्बु साम्बा नहुँदा टोलीलाई केही गाह्रो हुने अनुमान गर्छिन्। तर उनको कमी हुन नदिन सक्दो प्रयास गर्ने उनले बताइन्।

टोलीकी कप्तान रेनुका नगरकोटे पनि टोलीमा साम्बाको अभाव महसुस भइरहेको बताउँछिन्। 

‘सावित्रालाई धेरै मिस गरिरहेका छौँ। ऊ हाम्रो टिमको एकदमै महत्त्वपूर्ण खेलाडी हो। तर अहिले ऊ छैन’, उनी भन्छिन्, ‘त्यसो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन। टोलीमा नयाँ खेलाडीहरु राम्रा छन्। उमेर समूहका अनुभवी खेलाडी भएकाले उनीहरुबाट पनि आशा गरेका छौँ।’

साम्बाको स्थान कसले लिन्छ भन्ने अहिले नै एकीन नभए पनि प्रशिक्षकले सबैलाई प्रयास गरिरहेको रेनुकाले बताउँछिन्। 

‘आशलाग्दा नयाँ खेलाडीहरु आएका छन्। टोली बलियो छ’, उनले थपिन्, ‘अहिले हामीसँग सम्बा मात्रै नभएको हो तर धेरै फरक पर्छ जस्तो लाग्दैन।’

प्रशिक्षक फिलिप्स पनि अहिले साम्बाको ठाउँ लिनसक्ने खेलाडी हेरिरहेका छन्। उनी आफैँले साम्बा नहुँदा अभाव महसुस भएको बताइसकेका छन्। 

‘उनी टोलीका लागि महत्वपूर्ण खेलाडी हुन्, त्यसैले छनोट खेलमा उनको अभाव खट्किनेछ’, फिलिप्स भन्छन्, ‘उनको स्थान कसले लिन्छ अहिले नै भन्न सकिन्न। अरु खेलाडीलाई तयार पार्दै छु।’

छनोट चरणको समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्नेछ। समूहको शीर्ष टोली यसै वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .