खेल


आफ्नाे पहिचान लुकाएर ज्यान बचाउने बाटो खोज्दै अफगान महिला खेलाडी

आफ्नाे पहिचान लुकाएर ज्यान बचाउने बाटो खोज्दै अफगान महिला खेलाडी

खालिदा पाेपालकाे ट्विटरबाट लिइएकाे तस्बिरमा अफगान महिला खेलाडी


नेपालखबर
भदौ १, २०७८ मंगलबार १६:१९, काठमाडौँ

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको खेल क्षेत्रमा चिन्ता बढेको छ। 

दुई दशकपछि तालिबानको हातमा सत्ता परेपछि खासगरी महिला फुटबल टोलीका सदस्यहरु खेलाडीको पहिचान नै लुकाउनुपर्ने अवस्थामा पुगेका हुन्। 

माइखेल डटकमका अनुसार अफगान फुटबल महिला टोलीका सदस्यहरुले पूर्वअफगान महिला फुटबल टोलीकी कप्तान खालिदा पोपललाई फोन गरेका थिए। खालिदाले ती खेलाडीलाई आफ्नो पहिचान लुकाएर घर छोड्न सुझाव दिइन्। 

आफूलाई खेलाडी भनेर चिन्ने मानिसबाट समेत टाढै रहन उनले सुझाव दिएकी छिन्। 

योसँगै आफ्नो इतिहास नै मेटाउने अवस्थामा महिला खेलाडी पुगेका छन्। तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ बनाउने बताइसकेका छन्। 

खालिदाले डेनमार्कबाट एक टेलिफोन साक्षात्कारमा एसोसिएट प्रेससँग भनिन्, ‘म उनीहरुलाई सामाजिक सञ्जालहरुबाट हट्ने, भाग्ने र आफैँलाई लुकाउनको लागि प्रोत्साहित गरिरहेकी छु।’ 

यसले आफ्नो मुटु नै छियाछिया भएको खालिदा बताउँछिन्। ‘किनभने यतिका वर्ष महिलालाई अगाडि बढाउन काम गर्यौँ र अब म अफगानिस्तानमा आफ्ना महिलालाई चुपचाप रहन र गायब हुन भनिरहेकी छु, किनकि उनीहरुको ज्यान खतरामा छ’, खालिदा भन्छिन्। 

३४ वर्षीया खालिदा सन् १९९६ मा तालिबानले काबुल कब्जा गरेपछि परिवारसँगै भागेकी थिइन्। फेरि उनी दुई दशकअगाडि दोस्रोपटक अफगानिस्तान फर्केकी थिइन्। 

उनी पाकिस्तानको एउटा शरणार्थी शिविरमा बसेकी थिइन्। त्यतिबेला अन्तर्राष्ट्रिय समुदायको सुरक्षासँगै खालिदाले महिलाको अधिकार बढाउन एउटा फुटबल टोली बनाउन भूमिका खेलिन्। 

२००७ सम्म उनीसँग महिला राष्ट्रिय टोलीको हिस्सा बन्ने खेलाडी जन्मिसकेका थिए। तर उनले धेरै मार्ने धम्की खेप्नुपर्यो। 

‘हामी जर्सी लगाएर धेरै गर्वान्वित हुन्थ्यौँ, यो नै अहिलेसम्मको सबैभन्दा राम्रो कुरा थियो’, उनले भनिन्, ‘मलाई मार्ने धम्की र चुनौती यति धेरै आउँथ्यो कि म राष्ट्रिय टिभीमा थिएँ र तालिबानलाई आफ्नो दुश्मन भनिरहेको थिएँ।’ 

खालिदाले सन् २०११ मा अफगानिस्तान फुटबल एसोसिएसनमा एक निर्देशकको रुपमा टोलीको समन्वय गर्न खेल्न छोडेकी थिइन्। तर उनीविरुद्धको धम्की रोकिएन। सोही कारण उनी डेनमार्कको शरण लिन बाध्य भइन्। 

अहिले झन् खराब अवस्था आएको छ। यसअघि महिला टोलीलाई अफगानिस्तान फेडेरेसन लिडरशिपको भ्रस्टाचारसँग पनि जुध्नुपर्यो। अहिले महिला खेलाडीको अवस्था डरलाग्दो छ। तालिबानहरुले भनिसकेका छन्– उनीहरु आफ्नै सुरक्षा समेत गर्न सक्नेछैनन्। 

खालिदा भन्छिन्, ‘हामीले शत्रु नबनाएको भए। उनीहरु रोइरहेका छन्, रोइरहेका छन्...उदास छन्, हतास छन्। उनीहरुसँग यति धेरै प्रश्नहरु छन्। उनीहरुमाथि जे भइरहेको छ, त्यो ठीक छैन।’ 

उनका अनुसार महिला खेलाडीहरु लुकिरहेका छन्। कतिले घरै छोडिसकेका छन् र आफन्तको शरण लिएका छन्। तालिबान सबै स्थानमा फैलिसकेको छ। डर, धम्की र त्रास देखाउँदै हिँडेको छ। 

अहिले त अफगान महिला फुटबल टोलीले फेरि खेल्न पाउने कल्पना गर्न पनि मुश्किल छ। 

उनी भन्छिन्, ‘यो दर्दनाक अवस्था हेर्नुपर्ने अवस्था छ, सरकारले महिलाहरुको आशामा कुठाराघात गर्दै तालिबानसामु आत्मसमर्पण गरिदियो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad