वुमन्स च्याम्पियन्स लिगमा विराटनगर टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै विराटनगरले लगातार दोस्रो जित हात पारेको हो।
पोखराले दिएको ९५ रनको लक्ष्य विराटनगरले १५ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो। विराटनगरका लागि लक्ष्मी चौधरीले सर्वाधिक २३ रन जोडिन्। यस्तै ज्योती पाण्डले २२, अस्मिता कर्माचार्यले १६ तथा डोली भट्टले १२ रनको योगदान दिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९४ रन जोडेको थियो। पोखराका लागि कविता कुँवरले २२ रन जोडिन्। त्यसबाहेक कप्तान सीता रानामगरले १६ तथा अञ्जली चन्दले १५ रन जोडेका थिए।
जितसँगै विराटनगरले २ खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा छ भने लगातार दुई खेलमा पराजय भोगेको पोखरा पल्टन भने पुछारमा छ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा सुरु भएको प्रतियोगिता कार्तिक ७ गतेसम्म चल्ने छ। प्रतियोगितामा पाँच शहरका ५ टोलीहरु ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस टोलीहरुबीच प्रतिस्पर्धा भइरहेको छ।
राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधैं फाइनलमा स्थान बनाउने छ। दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशको लागि क्वालिफयार खेल्नेछन्। विजेताले ७ लाख र उप विजेताले ३ लाख रुपैयाँमा प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया