ad ad

खेल


एन्फामा भाँडभैलो : पदाधिकारीको शक्ति संघर्षमा प्रशिक्षक पनि तानिए

अलमुताइरीलाई काम नगर्न पत्र
एन्फामा भाँडभैलो : पदाधिकारीको शक्ति संघर्षमा प्रशिक्षक पनि तानिए

लक्ष्मी जि.सी
साउन १८, २०७८ सोमबार ६:२५, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाएको छ।

उपाध्यक्ष र प्रशिक्षकबीचको विवाद मिलाउन असफल भएपछि एन्फाले मन्त्रालय गुहारेको हो। यसअघि एन्फाले सो विवाद छानबिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

‘विवाद समाधानका लागि हामीले आज आइतबार मन्त्रालयमा पत्र पठाएका छौँ। अब मन्त्रालयले आफैँ समिति बनाउँछ कि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जिम्मा दिन्छ, त्यो उहाँहरुको कुरा हो,’ एन्फा प्रवक्ता किरण राईले भने।

पत्र प्राप्त भएको र सचिव आएपछि त्यससम्बन्धी प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ। टोक्यो ओलम्पिकमा सहभागी हुन गएका मन्त्रालयका सचिव केदार न्यौपाने सोमबार फर्किँदैछन्।

गतसाता आइतबार मुख्य प्रशिक्षक अलमुताइरीले फेसबुकमार्फत् फुटबल समर्थकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए। उनले उपाध्यक्ष नेम्बाङका कारण काम गर्ने वातावरण नभएको बताएका थिए। यद्यपि उनले औपचारिक रुपमा राजीनामा भने दिएका छैनन्।

एन्फाले अलमुताइरीलाई पनि प्रशिक्षण नगराउन पत्र काटेको छ। विवादको विषय छलफलकै क्रममा रहेको भन्दै एन्फाले अलमुताइरीलाई विवाद समाधान नहुँदासम्म काम नगर्न भनेको हो।

राजीनामा घोषणासँगै प्रशिक्षणमा नगएका अलमुताइरी शनिबारको मैत्रीपूर्ण खेलमा भने मैदान उत्रेका थिए। साफ च्याम्पियनसिप तथा एसियन कपको छनोटको तयारीमा रहेको राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्दै आएको छ। मुख्य प्रशिक्षक प्रशिक्षणमा नआएको र राष्ट्रिय टोलीका खेलाडीले परिवारसँग बस्न केही समय मागेपछि एन्फाले खेलाडीहरुलाई १० दिनको विश्राम दिएको छ।

गत बिहीबार अल्मुताइरीले सञ्चारकर्मी दाबी गर्ने दुई जनाले आफूलाई अपमान गरेको गरेको बताउँदै छानबिनका लागि निवेदन दिएका छन्। त्यसमा पनि नेम्वाङको हात रहेको उनको दाबी छ। त्यसबारे सरकारी निकायले छानबिन गरी यथार्थ सार्वजनिक गर्नुपर्ने उनको माग छ। 

आफूले एन्फाको आग्रहमा नै आधिकारिक राजीनामा स्थगित गरेको र अगष्ट १० सम्म माग पुरा नभए राजीनामाको प्रक्रिया पूरा गरेर देश छाड्ने उनले बताएका छन्। 

नेम्वाङले भने मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामा घोषणा गर्दा झूटा दाबी गरेको बताएका थिए। एन्फाको आगामी निर्वाचनलाई प्रभावित गर्नेगरी अल्मुताइरीले आफूमाथि आरोप लगाएको उनको दाबी छ। उनले अलमुताइरीको आरोपमाथि छानबिन गर्न माग गरेका थिए। 

वरिष्ठ उपाध्यक्ष नेम्वाङ, प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीले छानबिनका लागि भिन्दाभिन्दै निवेदन दर्ता गराएपछि शुक्रबार एन्फाको केन्द्रीय समितिको आपतकालीन बैठक बसेको थियो।

बैठकमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशिक्षक अलमुतारीलाई कारबाही गर्दा नेपाली फुटबललाई अप्ठेरो पर्ने बताएपछि नेम्वाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामा बैठक छाडेर निस्केका थिए। यद्यपि, नेम्वाङले बैठकले गर्ने निर्णयमा आफ्नो समर्थन रहेको बताएका थिए।

उता अलमुताइरी पनि रिसाएर बीचमै बैठक छाडेर हिँडेका थिए। एन्फाले आफ्नो बचाउ नगरेको अलमुताइरीको आरोप छ।

पछिल्लो समय एन्फा अध्यक्ष शेर्पा र उपाध्यक्ष नेम्वाङबीचको मनमुटाव कसैबाट लुकेको छैन। एन्फाको निर्वाचन आउन अब एक वर्षभन्दा कम समय बाँकी छ। त्यसैले पनि अहिलेको विवादलाई धेरैले चुनावसँग जोडेर हेरेका छन्। निर्वाचनअघि आफुलाई बदनाम गराएको पनि उपाध्यक्ष नेम्वाङले बताउँदै आएका छन्।

‘फुटबलमा मेरो योगदानमाथि धब्बा लगाउने काम भएको छ, व्यक्तिगत आरोप मात्रै त मैले बिर्सन पनि सक्छु। उहाँ एन्फाको एउटा कर्मचारी हो। विदेशी प्रशिक्षक हुँदैमा जे पायो त्यही गर्ने छुट छैन,’ नेम्वाङले भने।

खेल प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्ता यतिबेला दुई भागमा विभाजित देखिन्छन्। धेरैजसो मुख्य प्रशिक्षक अलमुताइरीको समर्थन गर्दै उपाध्यक्षमाथि खनिएका छन्। केहीले नेम्वाङको समर्थन पनि गरेका छन्। 

केहीले भने नेपाली टोली सम्हालेपछि सामाजिक सञ्जालमा निकै नै सक्रिय देखिएका प्रशिक्षक अलमुताइरी एन्फा अध्यक्ष र उपाध्यक्षको विवादमा अनावश्यक रुपमा प्रवेश गरेको आरोप लगाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .