पहिलो चरणमा सबैले बराबरीको नतिजा आत्मसात् गरेका कारण समूह ‘बी’ अहिले सन्तुलित छ।
क्यानडा, कतार, स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जोगोभिना सबैको समान एक/एक अंक छ।
अब समूह चरणमा यी टोलीले समान दुई खेल खेल्न बाँकी छ। यस्तोमा एक जित मात्रले पनि नकआउट चरणको संघारमा पुग्न सकिन्छ भन्ने सबैले बुझेका छन्।
किनभने २०२६ फिफा विश्वकपमा समूह चरणमा शीर्ष तीनभित्र पर्ने उत्कृष्ट ८ टिम पनि नकआउट चरणमा पुग्नेछन्।
यसपटकको विश्वकपमा ४८ टोली १२ समूहमा विभाजन गरिएको छ। शीर्ष दुई स्थानमा रहने टोली सोझै नकआउट चरणमा पुग्नेछन् भने तेस्रो स्थान ओगट्ने उत्कृष्ट आठ टोलीको पनि स्थान सुरक्षित हुनेछ।
यो पटक विगतको जस्तो १६ टोलीबीच नकआउट चरण सुरु नभई ३२ टोलीबाट सुरु हुनेछ। त्यसैले ४ अंक बटुलेर पनि समूहमा तेस्रो स्थानमा रहने टोलीको नकआउट चरणको यात्रा करिब सुनिश्चित हुन सक्छ।
क्यानडा भर्सेस कतार
नेपाली समयअनुसार शुक्रबार बिहान ३:४५ भ्यानकोभरस्थित बिसी प्लेसमा कतारसँग खेलिरहँदा सहआयोजक क्यानडा ऐतिहासिक पहिलो जितको लक्ष्यमा हुनेछ। उच्च अपेक्षाका बाबजुद क्यानडाले आफ्नो पहिलो खेलमा बोस्नियासँग संघर्ष गर्यो।
जेसी मार्शको नेतृत्वमा रहेको क्यानडा खेलअवधिभर ‘नर्भस’ देखिन्थ्यो। फाइनल थर्डमा सार्पनेसको कमी थियो। निर्धारित समय सकिन १४ मिनेट बाँकी छँदा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका स्ट्राइकर काइल लारिनको गोलमा क्यानडाले विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्यो।
त्यसअघि जोभो लुकिकको गोलमा बोस्नियाले २१औँ मिनेटमा अग्रता लिएको थियो। यो क्यानडाका लागि सबैभन्दा धेरै चिन्ताको विषय थियो। उक्त खेलमा पनि विपक्षीबाट सुरुमा गोल खाने क्रमले फेरि पनि निरन्तरता पायो। पछिल्ला सातमध्ये ६ खेलमा क्यानडाले सुरुमा गोल खाएको थियो।
कतारसँग खेल्नुअघि कप्तान अल्फन्सो डेभिजको फिटनेस फेरि एकपटक चर्चाको विषय बनेको छ। बार्यन म्युनिखका स्टार खेलाडीले ह्यामस्ट्रिङ समस्याका कारण बोस्नियासँगको खेल गुमाएका थिए। कतारविरुद्ध डेभिजको उपस्थिति हुने हो भने क्यानडाको ‘अट्याकिङ थ्रेट’मा बल पुग्नेछ।
सन् २०२२ मा यी दुईले पछिल्लोपटक एकअर्कासँग खेलेका थिए। अस्ट्रियामा सम्पन्न मैत्रीपूर्ण खेलमा क्यानडा २–० ले विजयी भएको थियो। पछिल्लो भेटको नतिजाबाट यो खेलमा क्यानडाको आत्मविश्वास बढाउन सक्छ।
वर्तमान टोलीबाट डेभिज, म्याक्सिम क्रेपाउ, रिची लारिया, डेरिक कर्नेलियस र जेडेन नेल्सन बिसी प्लेसका बारेमा जानकार छन्। सबैले युथ/सिनियर लेभलमा भानकोभर ह्वाइटक्याप्सको प्रतिनिधित्व गरेका थिए।
कतार भने स्विट्जरल्यान्डविरुद्ध नाटकीय बराबरी खेल्दै भ्यानकोभर प्रस्थान गर्दैछ। युलियन लापोटेगीको नेतृत्वमा रहेको कतार खेल अवधिभर लो ब्लकमा खेलेको थियो।
अन्त्यमा होमाम एल अमिनको क्रसलाई सदुपयोग गर्दै सेन्टरब्याक तथा कप्तान बोआलेम खुखीले हेडरमार्फत् ९४ औँ मिनेटमा बललाई जाली चुमाए। गोल अनि फाइनल ह्विस्सलपछि युलियन लापोटिगेको नेतृत्वमा रहेको कतारको ‘सेलिब्रेस’ हेर्नलायक थियो।
एसियन च्याम्पियन कतारले पछिल्ला सात खेलमा जित हासिल गर्न सकेको छैन। यी खेलहरूमा कतारले एक गोलभन्दा बढी गर्न सकेको छैन। तर, स्विट्जरल्यान्डविरुद्ध जुन किसिमको दृढ संकल्प कतारले देखायो। त्यो कम आकलन गर्न मिल्दैन।
गत विश्वकपको आयोजकले वर्तमान आयोजकलाई पहिलो जितका लागि तड्पाउन सक्छ। यस खेलमा आफ्नो पक्षमा नतिजा निकाल्न सके दुवै टोलीका लागि विश्वकप इतिहासमा पहिलो जितको रूपमा दर्ज हुनेछ।
स्विट्जरल्यान्ड भर्सेस बोस्निया क्यानडाविरुद्धको प्रदर्शनले बोस्नियालाई आगामी यात्राका लागि ऊर्जा दिएको छ।
उक्त खेलमा टोलीले अनुशासित खेल प्रदर्शन गरेको थियो। यद्यपि बोस्नियाले सोचेजस्तो अन्त्य पाएन।
पहिलो खेलमै बाक्लो समर्थकको साथ रहेको सहआयोजकविरुद्ध बराबरी खेल्नु पनि बोस्नियाका लागि उपलब्धिमुलक नतिजाको रूपमा लिन सकिन्छ।
बोस्निया पछिल्ला ९ खेलमा अपराजित छ। यद्यपि निर्धारित समयको मात्र कुरा गर्ने हो भने ९ मध्ये ६ खेल बराबरीमा सकिएको छ। स्विट्जरल्यान्डका लागि यो चिन्ताको विषय हो।
कतारअघि अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण खेलमा पनि स्विट्जरल्यान्डले १–१ को बराबरी खेलेको थियो। नेपाली समयअनुसार बिहीबार मध्यराति १२:४५ हुने खेलमा स्विट्जरल्यान्ड पक्कै पनि यो लयलाई तोड्न चाहन्छ।
उता कतार र क्यानडा ऐतिहासिक पहिलो जितको खोजीमा हुँदा समूह ‘बी’का दोस्रो चरणका खेलहरू नाटकीय रहने पक्कापक्की छ।
Shares

प्रतिक्रिया