खेल


क्रस-कन्ट्री दौडको उपाधि एपीएफ टोलीलाई, व्यक्तिगतर्फ चिनियाँकै वर्चस्व

क्रस-कन्ट्री दौडको उपाधि एपीएफ टोलीलाई, व्यक्तिगतर्फ चिनियाँकै वर्चस्व

वाशुदेव मिश्र
असोज २९, २०७६ बुधबार १०:३६,

पोखरामा पहिलो पटक आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधी सशस्त्र प्रहरी बल (एफिएफ) क्लवका खेलाडीहरुको पोल्टामा गएको छ।

बुधबार पोखरामा आयोजना भएको प्रतियोगितामा ४ घण्टा १७ मिनेट २२ सेकण्डमा निर्धारित दूरी पूरा गरि एपिएफको टिम पहिलो भएको हो। एपीएफको टिममा सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र ईन्द्रकला नेवाङ्ग सहभागि थिए।

ईन्द्रकला दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली ट्रायथलन टोलीको बन्द प्रशिक्षणमा रहेकी खेलाडी हुन्। बाँकी दुई जनाको भने क्रस–कन्ट्री दौडमा पहिलो सहभागिता हो।

क्रस कन्ट्रीमा ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र बोटिङ(डुंगा) समावेश गरिएको थियो। ट्रायथलनमा पौडी समावेश हुन्छ भने क्रस–कन्ट्री दौडमा पौडीको सट्टा डुंगा समावेश गरिएको हो।

प्रतियोगि टोलीले १९ किलोमिटर साइक्लिङ, १.९ किलोमिटर बोटिङ( डुंगा सयर) र बाँकी दूरी दौडेर नै पूरा गरेका थिए। साइक्लिङ भनिए पनि तीन जनाको टोलीमा एउटा मात्रै साइकल थियो। प्रतियोगितामा सहभागि हुने तीन जनाको टोलीमा एकजना महिला सहभागिता अनिवार्य थियो।

cross contry4

 

यसैगरि प्रतियोगितामा गुरिल्ला ट्रेल टोलीले दोस्रो स्थान प्राप्त गर्‍यो। सो समूहले निर्धारित दूरी ४ घण्टा १८ मिनेट २३ सेकेण्डमा पूरा गरेको थियो। टोलीमा दुर्गाराज बुढा, रसिला तामाङ र दामोदर बुढा मगर सामेल थिए। तेस्रो स्थान भने पाहुना चिनियाँ टोलीले कब्जा जमायो। काइनेटिक नामक सो टोलीले ४ घण्टा ५६ मिनेट २३ सेकेण्डमा दौड पूरा गर्‍यो।

टोलीमा च्याङ यी,पेङ वाइ सु र लाइ युजुन सहभागि थिए। चौथो स्थानमा चित्त बुझाएको नेपाली अन्नपूर्ण टोलीमा जीवन लामा,सौरभ राई र प्रतिभा श्रेष्ठ सहभागि थिए। सो टोलीले ४ घण्टा ५६ मिनेट ४५ सेकेण्डमा दौड पूरा गरेको थियो। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रस–कन्ट्री दौडको उपाधिसँगै कुनमिङमा आयोजना हुने १०० किलोमिटरको क्रसकन्ट्री रेसमा सहभागिताको अवसर प्राप्त गरेको छ।

cross contry2

नेपालीतर्फ चौथो हुने टोलीले पनि कुन्मिन क्रस–कन्ट्री दौडमा सहभागिता जनाउन पाउनेछ। प्रतियोगितामा चिनियाँ दुई टोलीसहित २७ वटा टिमको सहभागिता थियो। यता, क्रस–कन्ट्रीको व्यक्तिगत विधाको दौडको सबै उपाधी चिनियाँको पोल्टामा गएको छ। ४० किलोमिटर दूरीको दौडमा चीनका झाङ जी पहिलो, चाङ चियान दोस्रो र झाओ वान तेस्रो भए। उनीहरुले क्रमशः ३ घण्टा ३९ मिनेट, २७ सेकेण्ड, ३ घण्टा५० मिनेट १२ सेकेण्ड र ४ घण्टा १ मिनेट १२ सेकेण्डमा दूरी पूरा गरे।

चिनियाँ खेलाडीहरुको सहभागितामा पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एसोसियसनको आयोजना एवं पोखरा र चीनको कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा क्रस–कन्ट्री दौडको आयोजना भएको हो। पोखराको बाराहीघाटबाट सुरु भएको दौडअन्तर्गत खेलाडीहरुले ड्यामसाइड, तिब्बतियन क्याम्प हुँदै फुस्रे खोलामा पुगेपछि साइकल चढेका थिए।

cross contry5

उकालो ठाउँमा भएको एकजनाले साइकल चढ्ने र बाँकी दौडने प्रक्रियासँगै उनीहरु केमेरे, राम्दी, मट्टीखान रिर्सोट हुँदै रामकोट पुगेका थिए। कुभिण्डे भन्ज्याङलाई अर्को प्वाइण्ट मानेर उल्लेरी, खरिखानी, भयरथान, पैयु चौतारी, भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा, फेवाताल पारिको लिचिबोटसम्म भने उनीहरु दौडिएका थिए। दौडपछि फेवातालमा राखिएको डुंगा खियाएर खेलाडीले दाैड पूरा गरेका हुन्।

दौडमा सहभागि खेलाडीहरुलाई पोखरा महानगरको वडा नम्बर १७, २१ र २२ तथा स्याङ्जाको फेदीखोला गाउँपालिका क्षेत्रमा स्थानीयहरुले भव्य स्वागत गरेका थिए। पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने संस्कृति विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भित्र्याउन यो खेलको आयोजना गरिएको संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए।

cross contry8

दौडलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो भने एथलेक्टस् सोसाइटी काठमाडाैं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरासहित विभिन्न संघ/संस्थाले सघाएका थिए। यसअघि खेलको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले मित्रराष्ट्र चीनमा नेपालको प्रचार गर्न क्रस–कन्ट्री दौडले सघाउने धारणा राखिन्।

पोखरा महागनरपालिकाका मेयर मानबहादुर जिसीले भगिनी सम्बन्ध भएको कुन्मिनसँगको सम्बन्ध बिस्तार र पोखराको पर्यटन प्रवद्र्धनमा खेल सहायक हुने बताए। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले खेल पर्यटनको माध्यमबाट नेपालमा पर्यटन भित्र्याउने उदेश्यले खेल आयोजना गरिएको बताए। उनले खेललाई अर्को वर्ष पनि आयोजना गरिने जानकारी दिए।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलका अनुसार पोखराको दक्षिणी भेगमा रहेका सुन्दर डाँडा र पर्यटकीय ठाउँको प्रवद्र्धनमा यो दौडले सघाउने बताए। पोखराको बेगनास क्षेत्रमा बेलायती राजकुमार चाल्र्सले पदयात्रा गर्दा त्यसको प्रचार भएको प्रसंग झिक्दै उनले खेलले पोखराको दक्षिणी क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .