खेल


१४औँ साग २०२३ को मार्चमा पाकिस्तानमा हुने निश्चित, भारत पनि सहभागी हुने

१४औँ साग २०२३ को मार्चमा पाकिस्तानमा हुने निश्चित, भारत पनि सहभागी हुने

नेपालखबर
असार २८, २०७८ सोमबार १६:३२,

दक्षिण एसियाली खेलकुद (साग) को १४औं संस्करण सन् २०२३ को मार्चमा पाकिस्तानमा हुने निश्चित भएको छ।

साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औँ साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए। 

घरेलु मैदानमा भएको १३औँ सागमा नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको थियो। 

१४औँ सागमा महिला पुरुषका २७ खेलहरु समावेश गरिनेछ। २५ नियमित र आयोजक राष्ट्रका हैसियतमा पाकिस्तानले आफ्नो अनुकुलको दुई खेल थप गरेर साग आयोजना गर्नेछ।  

१३औँ साग सकिएपछि पहिलो पटक सागको बैठक बसेको हो। जसमा नेपालकोतर्फबाट एनओसीका महासिचव श्रेष्ठ सहभागी थिए।  

सागको उद्घाटन र समापन तथा मुख्य प्रतियोगिताहरु लाहोरमा हुनेछ। पाकिस्तानले लाहोरबाहेकका अन्य ४ सहरमा प्रतियोगिता गर्न गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको महासचिव श्रेष्ठले बताए। 

दोस्रो चरणमा कुन कुन खेल सहभागी गराउने र स्थानको बारेमा दोस्रो बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिए।  

प्रतियोगिता हुने तय भएसँगै अब नेपालले पनि तयारी सुरु गर्नेछ। 

यसअघि कोरोना महामारी लगायता कारण बैठक हुन सकेको थिएन। त्यसले गर्दा तयारी कहिले कसरी सुरु गर्ने भन्नेमा अनभिज्ञता थियो तर अब मिति तय भएसँगै नेपालले पनि तयारी सुरु गर्ने महासचिव श्रेष्ठले बताए। 

१४औँ साग पाकिस्तानले आयोजना गर्नका लागि नेपालबाट झण्डा लिएपछि भारतको कस्तो सहयोग रहन्छ भन्नेमा धेरैको चासो थियो। 

सागमा भारत सहभागी नहुने बताएको अवस्थामा पाकिस्तानमा साग आयोजना गर्न कठिन थियो। तर आजको बैठकमा पाकिस्तानमा हुने सागमा आफूहरु सहभागी हुने र सहयोग रहने भारतले बताएपछि साग पाकिस्तानमा हुने निश्चित भएको हो। 

सागको आयोजक स्वतः साउथ एसियन ओलम्पिक काउन्सिलको अध्यक्ष रहने व्यस्थाअुसार पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्षको अध्यक्षतामा आज भर्चुअल बैठक बसेको हो। 

बैठकमा भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान ओलम्पकि कमिटीका अध्यक्ष तथा महासचिव सहभागी थिए। 

१३औं साग नेपालको घरेलु मैदानमा २०१९ डिसेम्बरमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad