ad ad

खेल


कोपा सेमिफाइनल : अपराजित अर्जेन्टिनालाई कोलम्बिया कठिन प्रतिद्वन्द्वी

कोपा सेमिफाइनल : अपराजित अर्जेन्टिनालाई कोलम्बिया कठिन प्रतिद्वन्द्वी

लक्ष्मी जि.सी
असार २२, २०७८ मंगलबार २०:३१,

ब्राजिलमा जारी दक्षिण अमेरिकी महादेशीय फुटबल च्याम्पियनसिप कोपा अमेरिकामा बुधबार अर्जेन्टिना र कोलम्बिया भिड्दैछन्। बिहान पौने ७ बजे हुने खेलको विजेताले उपाधिका लागि ब्राजिलसँग भिड्नेछ। 

अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बिया उरुग्वेलाई पराजित गर्दै सेमिफाइनल पुगेका हुन्। पछिल्लो पटक कोलम्बिया र अर्जेन्टिना गत जुन ९ तारिखमा भिडेका थिए। त्यो खेल २–२ गोलको बराबरीमा सकिएको थियो। कोपा अमेरिकामा कोलम्बियाले अर्जेन्टिनालाई २-० गोलले हराएको थियो।

तीन खेलयता अर्जेन्टिनाले कोलम्बियालाई हराउन सकेको छैन। सन् २०१६ मा विश्वकपको छनोट खेलमा कोलम्बियालाई ३-० ले हराएको अर्जेन्टिनाले त्यसयता जित निकाल्न सकेको छैन। यी दुईबीचका दुई खेल बराबरीमा सकिएका छन् भने एक खेल कोलम्बियाले जितेको छ।

१८ खेलमा अपराजित अर्जेन्टिना
अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमै आयोजित विश्वकपमा फाइनल पुगेको थियो। दुई वर्ष पहिले पनि ब्राजिलमै भएको कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाइनलमा घरेलुटोलीसँग पराजित हुँदै बाहिरिएको थियो।

अर्जेन्टिना सन् २००७, २०१५ र २०१६ को कोपा अमेरिकामा पनि फाइनल पुगेको थियो। तर २००७ मा ब्राजिलसँग पराजित भयो भने त्यसपछि दुवै पटक चिलीसँग पराजित हुँदै उपाधिबाट बन्चित बन्यो।

जारी प्रतियोगितामा अर्जेन्टिना अपराजित छ। पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले पछिल्ला चार खेलमा लगातार जित निकालेको छ।

समूहचरणको अन्तिम खेलमा बोलिभियालाई ४-१ गोलले हराएको अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई ३-० ले पराजित गर्‍यो। अर्जेन्टिना सन् २०१९ यताका लगातार १८ खेलमा अपराजित छ। ११ खेलमा जित निकालेको छ भने ७ खेल बराबरी खेलेको छ।

अर्जेन्टिनाले हालसम्म १४ पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। तर सन् १९९३ पछि कोपाको उपाधि उचाल्न सकेको छैन। 

छ पटकका बालोन डि ओर विजेता लियोनल मेस्सी जारी कोपा अमेरिकाको सर्वाधिक गोलकर्ता समेत हुन्। कोपामा ४ गोल गरेका मेस्सीले ४ गोलमा असिस्ट गरेका छन्। आफ्नो कप्तानीमा मेस्सी अर्जेन्टिनालाई पहिलो उपाधि दिलाउन चाहन्छन्। 

कठिन यात्रामा कोलम्बिया
कोलम्बिया क्वाटरफाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम ४ मा पुगेको हो। समूह चरण पनि उसको लागि सुखद रहेन। 

पेरु र ब्राजिलसँग समान २–१ गोलले पराजित भएको कोलम्बियाले इक्वेडरलाई पराजित गर्दा अघिल्लो चरण सम्भव भएको हो। यस्तै भेनेजुएलासँग गोलरहित बराबरी खेल्यो। 

पछिल्ला १० खेलमा तीन जित, चार हार र तीन बराबरीको नतिजा निकालेको छ। सन् २००१ मा कोपाको उपाधि उचालेको कोलम्बिया २ दशकपछि सेमिफाइनलमा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .