ad ad

खेल


अब क्यानको नेतृत्वमा आउँछु: पारस खड्का(अन्तर्वार्ता)

अब क्यानको नेतृत्वमा आउँछु: पारस खड्का(अन्तर्वार्ता)

नेपालखबर
असोज २८, २०७६ मंगलबार १०:२८,

सन् २००४ देखि नेपाली सिनियर टोलीका सदस्य रहेका पारस खड्का २००९ देखि टोलीको कप्तान बनेका थिए।

विनोद दासको स्थानमा कप्तानी सम्हालेका पारसले नेपाललाई डिभिजन-५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यता समेत दिलाए। आधुनिक नेपाली क्रिकेटमा पारस सबैभन्दा सफल खेलाडी तथा कप्तान हुन्। सोमबारमात्रै नेपाली क्रिकेटमाथि आइसीसीले लगाएको निलम्बन फुकुवा गरेको खुसी सकिन नसक्दै पारसले मंगलबार अपराह्न कप्तानी छाडेको घोषणा गरे।

कप्तानी छाड्ने घोषणा गरेपछि पारससँग गरिएको अन्तर्वार्ता:

एक्कासि नेतृत्व छाड्ने निर्णयमा कसरी पुग्नुभयाे?
एक्कासि हैन। विगतका समयमा नेपाली क्रिकेट जसरी अघि बढिरहेको छ, म कप्तान भएको पनि दश वर्ष भइसक्यो। म आफू पनि नेपाली क्रिकेटको फुकुवा कसरी हुन्छ भन्ने सोचका साथ अघि बढिरहेको थिएँ। हिजो बेलुका मात्रै निलम्बन फुकुवाको समाचार आयो। त्यो हामी सम्पूर्ण क्रिकेट खेलाडी, नेपाली क्रिकेटको समर्थकका लागि निकै सकारात्मक समाचार थियो।

जहिले पनि हाम्रो ध्यान को कप्तान बन्यो? को अध्यक्ष बन्यो? कसले कसले कति रन हान्यो? कति विकेट लियो भन्ने खालको सोच हामी छ। नेपाली क्रिकेट समग्रमा अघि बढ्ने हो भने हामी व्यक्तिभन्दा बाहिर निस्किनेबेला आइसकेको छ।

अब अफ द फिल्डमा नयाँ टिम आइसकेको छ। अब क्रिकेटसँग सम्बन्धित जोसुकैले पनि मिलेर नयाँ सुरुवात गर्नुपर्ने बेला आएको छ। किनकि अब नयाँ चुनौती छ। आशा गरौं आगामी दिनमा सबैले आआफ्नो भूमिकाअनुसार काम गर्नुहुनेछ।

कप्तानी छाड्ने निर्णय लिन कति गाह्रो, सजिलो भयो?

paras 614A0501
गाह्रो भएन। मैले यसअघि नै निर्णय गरिसकेको थिए र आइसीसीले निलम्बन फुकुवा कहिले गर्छ भनेर कुरिरहेको थिए। मेरा लागि गाह्रो निर्णय भएन। जीवन के चाहान्छु भन्ने कुरामा म जहिलैपनि स्पष्ट हुन्छु। म सबैभन्दा राम्रो खेलाडी नभएपनि सबैभन्दा इमान्दार व्यक्ति भएर आफ्नो जिम्मेवारी सकेसम्म पुरा गर्न कोसिस गरेको छु। त्यसले गर्दा म आफ्नो आगामी यात्रा कस्तो हुनेछ भन्नेबारे स्पष्ट छु। धेरैलाई थाहा पनि थिएन यसका बारे। धेरैलाई झट्का पनि लागेको छ। तर, हामी सबैले स्टेपअप गर्नपर्छ। 

कप्तानमा नयाँ मान्छेलाई देखेर आफूले बाटो खालि गरिदिनुभएको हो?
कप्तान को बन्छ भन्ने मेरो निर्णय हुँदैन। किनकि मलाई पनि भनिएको थिएन कि तपाई कप्तान बन्दै हुनुहुन्छ तयार हुनुहाेस् भनेर। मलाई क्रिकेट संघले २००९ मा त्यो जिम्मेवारी दिनुभयो र मैले जतिसक्दो इमानदारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेँ। आगामी दिनमा कप्तान को बन्छ? भन्ने कुरा क्रिकेटका पदाधिकारीहरु, प्रशिक्षकहरु बसेर निर्णय लिनुपर्छ। तर, जो बने पनि अझै पनि नेपाली क्रिकेटको जित हुनुपर्छ। अहिले हामी जहाँ पनि छौं। खेलाडी, प्रशिक्षकको ठूलो भूमिका छ।

म कप्तानीमा आएकै कारण नेपाली क्रिकेट यहाँसम्म आइपुगेको पनि हैन। म कप्तानबाट गए भनेपछि नेपाली क्रिकेट खत्तम हुन्छ भन्ने पनि छैन। क्रिकेट भनेको हामी सबैको हो भन्ने सोचका साथ हामी अघि बढ्नुपर्छ। आशा गरौं नेपाली क्रिकेटले आगामी दिनमा धेरै सफलताहरु हासिल गरोस् र कप्तान, खेलाडी, पदाधिकारी जोसुकै होस्, सबैको सोच भनेको नेपाली क्रिकेट अघि बढ्नैपर्छ भन्ने हुनुपर्यो। त्यो हुने हो भने हामी अवश्य पनि अहिलेभन्दा अझै राम्रो नतिजा ल्याउन सक्छौं।

तपाईंले देखेको नयाँ कप्तान को हो?
नयाँ कप्तानका रुपमा मैले हेर्दाखेरि अस्ति भर्खर ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा हामीले दीपेन्द्रसिंह ऐरीलाई सहायक कप्तान बनायौं। मलाई लाग्छ, अबको टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन्। कम्तीमा अबको एक वर्ष पनि ज्ञानेन्द्र मल्ललाई नै कप्तानी दिनुपर्छ। उनी टिममा सबैभन्दा बढी अनुभवी खेलाडी र सम्मानित खेलाडी पनि हुन्। तर, अन्त्यमा क्रिकेट संघले नै कसलाई नेतृत्व दिने भन्ने जिम्मा दिनेछ।

२००९ देखि २०१९ सम्म कप्तानी गर्दा आफ्नो यात्रालाई आफूले कसरी हेर्नुभएको छ?
धेरै सन्तुष्ट। खेलाडीहरु र प्रशिक्षकहरुको निकै राम्रो सहयोग रह्यो। मेरो सबैभन्दा बलियो पक्ष भनेकै मेरो खेलाडीहरुको सपोर्ट थियो। रोय डायस, पुबुदु दासानायके, उमेश पटुवालदेखि घरेलु प्रशिक्षकका रुपमा जगत टमटाले पनि मलाई कप्तानका रुपमा धेरै सपोर्ट गर्नुभयो। सबैको अनलिमिटेड सपोर्ट, क्लियर भिजन थियो कि जसरी भए पनि नेपाली क्रिकेटलाई अघि बढाउने। त्यही सोचका कारण हामी यहाँसम्म पुगेका हौं।

यो पनि: आधुनिक नेपाली क्रिकेटमा पारसको अविश्वसनीय यात्रा

म धेरै खुसी र भाग्यमानी छु। मेरो त सपना पनि थिएन, नेपालका लागि क्रिकेट खेल्ने भन्ने तर भाग्यमा अर्कै कुरा लेखेकाे थियो। यू–१५, १७, १९ खेल्दै गएपछि राष्ट्रिय टिममा पुगेर त्यसको नेतृत्व गर्ने मौका पनि पाएँ। यो अविश्वसनीय यात्रा थियो। तर, हरेक कुराको अन्त्य हुन्छ। कुनै पनि कुरा जीवनमा स्थायी छैन। हामीले नेपाली क्रिकेटको प्रगति भने स्थायी गर्नुपर्छ। सबैले कडा मिहिनेत गर्नुपर्छ। अब खेलाडीहरुले मात्रै पुग्दै पुग्दैन। सबैको एउटै ट्युन हुनुपर्छ। आशा गरौं, जो पनि व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुले आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ।

टिमले राम्रै प्रदर्शन गरिरहेको बेला, खेलिरहेको बेला, टिमकाे राम्रैसँग नेतृत्व गरिरहेका बेला एक्कासि राजिनामा दिनु अलि अस्वाभाविक भएन?

paras123456
म जहिले पनि राम्रो अवस्थामै छोड्ने सोचेको थिएँ। टिम हारेर, मैदानमा राेएर छोड्ने कुरा कहिले पनि सोचेको थिइनँ। म आफैँ पनि नेपालमाथिको निलम्बन कहिले फुकुवा हुन्छ भनेर पर्खिबसेको थिए। हिजोमात्रै निलम्बन फुकुवा भयो। यो रातारात लिइएको निर्णय हैन। मैले मेरो वरिपरिका मान्छेहरुसँग के ठीक के बेठीक हुन्छ? भनेर छलफल गरी अन्त्यमा निर्णय लिएको हुँ। क्रिकेट मेरो लागि सबैभन्दा शुद्ध चिज हो। यसका लागि म कसैसँग कम्प्रमाइज गर्न सक्दिन।

मैले कसैका लागि नभएर देशका लागि क्रिकेट खेल्ने हो। कप्तानबाट राजिनामा दिनु मैले यसलाई सही समय ठाने। क्यानमा नयाँ नेतृत्व आएको छ, उहाँहरुको नयाँ कप्तान छान्ने अधिकार छ। सबै टिमलाई व्यवस्थापन हुने गरी कप्तान छान्नुहुनेछ भन्ने विश्वास छ। खेलाडीका रुपमा पनि म आगामी दिनमा टिममा योगदान दिनेछौँ।

कप्तानबाट राजिनामा पछि कसरी अघि बढ्नुहुन्छ त?
म खेल्छु। खेलाडीका लागि अझै योगदान दिनसक्छु। अहिले म ब्रेक लिन चाहन्छु। विगतका चार/पाँच वर्षदेखि छनौटकर्ता, मेन्टर, कप्तान, खेलाडी लगायत सबैकुराले पनि अहिले म ब्रेक लिन चाहन्छु। ब्रेक भनेको कप्तानीबाट राजिनामा दिएको केही समयका लागि हो। नेपालका लागि अझै योगदान दिने मन छ। संघ आएपछि सेलेक्सेन कमिटी हुन्छ, उहाँहरुले निर्णय गर्नुहुने हो कि अब म टिममा हुन्छु कि हुन्न। 

अहिलेलाई ब्रेक लिने कुरा गर्नुभयो? कस्तो खालको ब्रेकमा बस्दैहुनुहुन्छ?
अहिले केही राहात महसुस गरिरहेको छु। मैले यसअघि खेलाडी, कप्तान, छनोटकर्ताका रुपमा धेरै कामहरु गरे। आइसीसी, क्यानसँग समन्वयन गरे, अन द फिल्ड र अफ द फिल्डको व्यवस्थापन गर्नुपर्‍यो। अहिले केही समय आराम गर्नुपर्ने अवस्था आएको छ। तर, अन्त्यमा मेरो परिचय क्रिकेटसँग जोडिएको छ। यो गेमले मलाई सबैकुरा दिएको छ। जबसम्म सक्छु त्यतिसम्म मैले जे क्रिकेटका लागि जे सक्छु त्यो गर्छु।

क्यानमा आएको नयाँ नेतृत्वसँग तपाईंको ‘ट्युनिङ’ पनि नमिलेको हो?
छैन, छैन। मेरो उहाँहरुसँग कुरा पनि भएको छैन। क्यान चुनावका बेला हामी यहाँ पनि थिएनौं। क्यान निलम्बनमा परेपछि नै साढे तीन वर्षसम्मै उहाँहरुसँग कुरा भएको छैन। हामी आइसीसीसँग सिधै कोअर्डिनेसनमा खेल्न जान्थ्यौं। हामीले खेलाडी, प्रशिक्षकका रुपमा यो-यो कुरा चाहिन्छ भनेर यसअघि पनि माग राखिसकेको छौं। पारस खड्का भनेको नेपाली क्रिकेट हैन, धेरै राम्रा खेलाडीहरु छन्। मैले अवसर पाए, सही ठाउँमा सही प्रदर्शन गरे र अहिले यहाँ छु। व्यक्तिमा हामी अड्किने हो भने हामी अहिले अघि बढ्न सक्दैनौं।

अब हरेकले पदाधिकारीहरुले काम नगरेबापत प्रश्न सोध्नुपर्ने बेला आइसकेको छ। पहिले फन्ड थिएन, यो थिएन, त्यो थिएन भन्ने थियो। तर, अहिले नेपाली क्रिकेटलाई चाहिने सबै स्रोत साधनहरु छ। यसको कसरी व्यवस्थापन गर्ने जिम्मा संघको पदाधिकारी हो। संघले खेल र खेलाडीलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने त्यसबाट पनि धेरै सोलुसन आउँछ।

पारस खड्काले नेपाल क्रिकेट संघलाई नेतृत्व गर्ने सपना देखेको छ कि छैन?

parass12345
भविष्यमा मैले नेपाल क्रिकेट संघ वा बोर्ड जे हुन्छ त्यसको नेतृत्व गर्ने सोचेको छु। तर, त्यो सोचेजस्तो सजिलो छैन। त्यसका लागि पूरै नयाँ संरचनामा आफूलाई ढाल्न सक्नुपर्छ। अहिलेसम्म मैले आफूलाई खेलाडीका रुपमा मात्रै आफूलाई प्रस्तुत गरेको छु। पदाधिकारी भएर आउने हो भने मैले पहिले क्रिकेटको विकासका लागि पनि काम गर्नुपर्यो। भारतमा भर्खरै पूर्वकप्तान सौरभ गांगुली त्यहाँको बोर्डको अध्यक्ष बनेका छन्। तर, भारतसँग तुलना गर्नु पनि हाम्रो मुर्खता हो।

भारतको संरचना निकै बलियो छ। त्यहाँ सौरभ गांगुलीले आफ्नो क्षेत्र बंगालको क्रिकेटमा धेरै योगदान दिएका छन् र उनी सम्मानित नाम पनि हो। आज पारस कप्तान भयो भनेर भोलि संघको अध्यक्ष हुन्छ भन्ने ग्यारेन्टी छैन। त्यसका लागि काम गर्नुपर्यो। कामको मूल्यांकनले नै मेरो भविष्यमा पनि निर्धारण गर्नेछ।

क्यानमा आएका नयाँ पदाधिकारीहरु आगामी यात्रामा बाधक बन्ने हुन कि भनेर राजिनामा दिनुभएको त हैन?
हैन, मैले व्यक्तिगत रुपमा यतिबेला सही समय हो भनेर राजिनामा दिएको हुँ। नयाँ सोच र संरचनाका साथ हामी अघि बढ्दैछौं। भोलि गएर पारसले कप्तानी गरेर, ज्ञानेन्द्र मल्लले राम्रो ब्याटिङ गरेर या सन्दीप लामिछानले बलिङ गरेरमात्रै जित्छ भन्ने केही पनि छैन्। खेलाडीहरुको सोच नेपाली क्रिकेट माथि पुर्याउनुपर्छ भन्ने छ। मलाई के लाग्यो भने नयाँ नेतृत्व आएपछि उहाँहरु नयाँ सोचका साथ नयाँ लिडरसिपसहित अघि बढ्नुपर्छ। त्यसमा मेरो तर्फबाट जे जति गर्नुपर्छ म सहयोग गर्न तयार छु।

फेरि कप्तानी गर्ने अनुरोध आयो भने फर्कनुहुन्छ कि नाई?
फर्कदैँन। मैले निर्णय लिइसकेँ। खेले भने खेलाडीका रुपमा खेल्छु। नेपाली क्रिकेटको कप्तानी गर्ने अब सोच छैन्। टिममा छानिए भने खेलाडीका रुपमा योगदान दिनेछु। नेपाली टिमको कप्तानी चाँही मैले आजदेखि नै छाडेको छु।

बोर्ड बनेको, निलम्बन फुकुवा भएको अवस्थामा तपाई अनुभवी कप्तानले टोलीको नेतृत्व गर्दा नेपाली क्रिकेटले अझै प्रगति गथ्र्यो कि?
नेपाली क्रिकेटको विकासका लागि के के गर्नुपर्छ? भनेर म सयवटा कुराहरु लेखेर दिनसक्छु। पटक पटक मैले भन्दै आएको छु। मेरो तर्फबाट सुझाव दिनसक्छु, खेलाडीका रुपमा देशलाई जिताउन सक्छु। त्यो भन्दा पनि महत्वपूर्ण कुरो के हो भने जिम्मेवारी कसले लिने? जिम्मेवारी मेरोमात्रै हैन्, सबैको हो। खेलाडीका रुपमा मेलै आफूलाई प्रमाणित गर्न सक्नुपर्छ। अहिलेसम्म जसोतसो खेलाडीहरुले जोडजाड गरि यहाँसम्म आइपुगेको हो। संघ बलियो नभईकन हुँदैन्। त्यसका लागि सबैको सहायता चाहिन्छ। त्यसका लागि पदाधिकारी या खेलाडीले मात्रै नभएर क्रिकेटलाई जजसले मायाँ गर्नुहुन्छ सबै एक ठाउँमा आएर लाग्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .