शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ गणना सुरु गरिएको छ। राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा क्षेत्रमा मंगलबारदेखि बाघ गणना थालिएको हो।
क्यामेरा ट्रयापिङ विधिबाट बाघ गणना भइरहेको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। बाघ गणना १५ दिनसम्म चल्नेछ। प्रत्येक ४ वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ।
बाघ हिडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको छ। सन् २००९ देखि क्यामेरा ट्रयापिङ विधिबाट बाघ गणना गर्न थालिएको हो।

त्यसअघि बाघ हिँडेको पञ्जा अनुगमन गरेर गणना गरिन्थ्यो। त्यो वैज्ञानिक नभएपछि सन् २००९ देखि नियमित क्यामेराबाट अनुगमन गणना भइरहेको छ।
क्यामेराको अगाडिबाट बाघ हिँडेमा क्यामेराले बाघको दुवैतर्फको पाटाको फोटो खिच्छ। त्यहीँ फोटोको आधारमा बाघ गणना गरिन्छ। क्यामेराले खिचेको बाघको पाटा अर्को बाघसँग मेल खाँदैन त्यहीँ विश्लेषण गरेर बाघ गणना गरिने संरक्षण अधिकृत ऐर बताउँछन्।
शुक्लाफाँटामा बाघ गणनाका लागि प्राविधिक, सुरक्षा र तथ्याङ्क विश्लेषकसहित ७७ जनाको जनशक्ति खटिएको छ। ११ वटा क्याम्पमा छुट्याएर जनशक्ति परिचालन गरिएको छ। २६० ग्रिडमा ५२० क्यामेरा जडान गरिएको छ।

एक ग्रिडमा एक जोडी क्यामेरा जडान गरिन्छ। डडेल्धुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको बनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवा डाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामेरा जडान गरिएको छ।
शुक्लाफाँटा र आसपासको क्षेत्रमा वर्षेनी बाघको संख्या बढ्दो छ। सन् २०२२ को राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटा र आसपासको क्षेत्रमा बाघको संख्या ३६ छ।
Shares

प्रतिक्रिया