बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–२ फयाल गाउँका ४० वर्षीय पुसे भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार भण्डारी आइतबार दिउँसो माछा मार्न जाँदै गर्दा भिरबाट लडेर घाइते भएका थिए।
उनैले घरमा फोन गरेर आफू भिरबाट लडेर गम्भीर घाइते भएको जानकारी गराएका थिए। त्यसपछि आफन्तसहित स्थानीय उनको उद्धारका लागि घटनास्थलतिर लागेका थिए। तर, अक्करे भिरले गर्दा उनीहरु त्यहाँ पुग्न सकेनन्। जहाँ भण्डारीले २४ घण्टासम्म छटपटाएर प्राण त्यागे।
उद्धारका लागि हारगुहार गरेका भण्डारीले भिरमै ज्यान गुमाएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक चौधरीले बताए। याे घटनाले फयाल गाउँ नै शाेकमा डुबेकाे छ।
‘उनको उद्धारका लागि गएका स्थानीय ८/९ जना पनि कर्णाली नदी किनारकै भिरमा रातभर अड्किएर बसेछन्,’ चौधरीले नेपालखबरसँग भने, ‘समयमै उद्धार हुन नसक्दा रातभर भिरमै छटपटाएर भण्डारीले प्राण त्यागेछन्।’
भण्डारीको शव स्थानीयले घटनाकाे २४ घण्टापछि सोमबार दिउँसाे भिरबाट निकालेका छन्। भण्डारी भिरबाट खसेको जानकारी स्थानीयले प्रहरीलाई आइतबार बेलुकी साढे ७ बजे मात्रै गराएका चौधरीले बताए।
‘त्यसपछि खटिएका प्रहरी र स्थानीयले शवलाई रातभर घटनास्थलमै कुरेर बसे,’ चौधरीले भने, ‘भण्डारी एक्लै माछा मार्न कर्णाली तिरतिर जाँदा दुःखद् घटना भयो। यस विषयमा हामी थप अनुसन्धानमा छौँ।’
Shares

प्रतिक्रिया