समाज


चियाले रोकेको विदेश यात्रा

चियाले रोकेको विदेश यात्रा

गोकुल जोशी
माघ २४, २०८१ बिहिबार ८:५८, कञ्चनपुर

हातमा दुईवटा थर्मस लिएका छन्। अर्को हातले झिल्लीमा गिलास बोकेका छन्। चियाले भरिएको थर्मस बोकेर बजारका गल्ली गल्ली डुल्छन् उनी।

भीमदत्त नगरपालिका–६ ऐठपुरका ३२ वर्षीय हरिश चन्द विगत चारवर्षदेखि यस्तै दैनिकीमा व्यस्त छन्। रोजगारीका लागि युवा पिँढी विदेश जाने क्रम बढ्दो छ। तर, हरिश भने यतै रमाएको भेटिए। 

दृढ इच्छा शक्ति र स्वदेशमै काम गर्ने हुटहुटी भए आफ्नै ठाउँमा पनि उद्यम गरेर आम्दानी गर्न सकिने उदाहरण बनेका छन्, चन्द। विगतमा उनले दुबईमा साढे पाँच वर्ष सेक्युरिटी गार्डको काम गरे। विसं. २०७६ सालतिर दुबईबाट घर फर्किएपछि उनलाई विदेश जाने सोच नै आएन। 

स्वदेशमै काम गर्ने योजना बनाएर चिया व्यवसायमा लागेको हरिश बताउँछन्। ‘सानैदेखि चियाको सोखिन थिएँ। विदेशमा पनि चिया बनाएर साथीहरुलाई पिउन दिँदा स्वादको प्रशंशा गर्थे,’ हरिशले नेपालखबरसँग भने, ‘विदेशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा काम गर्ने सोचेर घर आएँ। चियाको सोखलाई नै अहिले व्यवसायमा परिणत गरेको छु।’

हरिश प्रत्येक दिन बिहान ६ बजेदेखि चिया बनाउन सुरु गर्छन्। उनलार्ई चिया व्यवसायमा परिवारका अन्य सदस्यले पनि सघाएका छन्। घरमा भाइ नरेशले चिया बनाउन मद्दत गर्छन्। स्नातक तहसम्मको पढाई सकेका नरेश लोक सेवा आयोगको तयारीमा छन्। दाजुसँगै चिया व्यापारमा लागेर नरेशले पनि खर्च जोहो गर्दै आएका छन्। 

हरिश चिया लिएर महेन्द्रनगर बजारका गल्ली र बसपार्क क्षेत्र घुम्ने गर्छन्।  फोनबाट आउने चियाको मागलाई पनि पूर्ति गर्न उनलाई भ्याइ नभ्याइ हुने गरेको छ। 

‘बेलुकी ६/७ बजेसम्म नै चिया खपत हुने गरेको छ। फोन गरेर पनि चियाको माग आइरहेको हुन्छ,’ हरिशले भने, ‘भाइले पढाइसँगै मलाई चिया व्यवसायमा सघाइरहेको छ।’

दैनिक दुई सय कप भन्दा बढी चिया बिक्री हुने गरेका छन्। एक कप चिया २० रुपैयाँमा बिक्री हुने गरेको हरिशको भनाइ छ। सबै खर्च कटाएर दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म बचत हुने गरेको उनले बताए।

‘कप, दुध, मसलालगायतमा दैनिक १५ सयसम्म खर्च हुन्छ। सबै खर्च कटाएर मासिक ३०/४० हजार रुपैयाँ सहजै बचाउन सकिन्छ,’ उनले भने। 

चिया बिक्री गरेर हुने कमाइले घरखर्चको जोहो भएको हरिशको भनाइ छ। उनका अनुसार हालसम्म भाइ नरेशलाई पढाइमा खर्चको अभाव झेल्नु परेको छैन। 

हरिशको ४ सदस्यीय परिवार छ। परिवारको मुख्य आयस्रोत नै चिया व्यापार हो। विदेशमा दुखकष्ट गर्नुभन्दा स्वदेशमै काम गरेर आम्दानी गर्न पाउँदा हरिश निकै खुसी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad