समाज


छोरा जन्मिएको खुसी बोकेर फर्कंदै थियो सहदेवको परिवार, बाटोमै अस्ताए चारै जना

छोरा जन्मिएको खुसी बोकेर फर्कंदै थियो सहदेवको परिवार, बाटोमै अस्ताए चारै जना

गोकुल जोशी
असोज ३०, २०८१ बुधबार १२:४०, कञ्चनपुर

बैतडीको पुर्चौडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा गर्भवती थिइन्। २४ असोजमा उनी ‘डेलिभरी’का लागि कैलालीको धनगढी झरिन्। 

साथमा उनका श्रीमान् २२ वर्षीया सहदेव बोहरा पनि थिए। गर्भवती छोरीको स्याहार गर्न आमा ४५ वर्षीया जैमती पनि धनगढी आएकी थिइन्।

सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्मदिएपछि बोहरा परिवारमा खुसीयाली थियो। तर उनीहरूको खुसी एक दिन पनि टिक्न पाएन।

छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्‍यो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारै जना बाटोमै अस्ताए। 

दुर्घटनाले पुर्चौडी शोकमा डुबेको पुर्चौडी नगरपालिका–३ का अध्यक्ष खगेन्द्र बहादुर बोहराले बताए। उनका अनुसार मृतक तोलीगाउँका चार जना एकै परिवारका हुन। 

‘डेलिभरीपछि घर फर्कंदै थिए। राति दुःखद् घटना भयो,’ वडाध्यक्ष बोहरा भन्छन्, ‘पूरै गाउँ शोकमा छ।’

उनका अनुसार सहदेव भारतको बैंङ्लोरमा काम गर्थे। उनी केही महिना अघि मात्रै घर फर्किएका हुन। सहदेवले दुई वर्ष अघि गाउँकै कमलासँग बिहे गरेका थिए।

सहदेवका दुई दाई छन्। उनीहरू भारतको बैंङ्लोरमा काम गर्छन्। घटनापछि उनीहरू घर फर्कंदैछन्। सहदेवका आमाबुवा छैनन्। 

डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखाँनमा ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले बताए।

बसमा सवार पुर्चौडी नगरपालिका–१० की गोवणी महराको शव बुधबार बिहान दुर्घटनाग्रस्त स्थलबाट सुरक्षाकर्मीले निकालेका छन्। 

कञ्चनपुरका महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। बसमा १७ जना सवार थिए। तीमध्ये १२ जना घाइते छन्। 

गम्भीर घाइते पुर्चौडी नगरपालिका–३ का २४ को बिरेन्द्र बोहरा र डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहराको धनगढीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad