ad ad

समाज


एमपक्स नजाँची भारतबाट स्वदेश भित्रिँदै नेपाली

नाकाको हेल्थ डेस्कमा छैन उपकरण, लक्षण हेरेको भर
एमपक्स नजाँची भारतबाट स्वदेश भित्रिँदै नेपाली

गोकुल जोशी
भदौ २९, २०८१ शनिबार ८:१, कञ्चनपुर

कञ्चनपुरको गड्डाचौकी नाकामा हेल्थ डेस्क छ। जाँचका लागि स्वास्थ्यकर्मी खटिएका छन्। भारतबाट आउने मानिस हेल्थ डेस्कमा पुगेर जाँचपछि नाका प्रवेश पाउँछन्।

गड्डाचौकी नाकाको हेल्थ डेस्कमा अहिले कोरोना, डेंगी, एचआईभीलगायत रोगको मात्रै जाँच भइरहेको छ। हेल्थ डेस्कमा एमपक्सको जाँच गर्ने उपकरण नै छैन।

जसले भारतबाट फर्किनेहरुमा एमपक्स जाँच गर्न सकिएको छैन। अफ्रिकी मुलुकमा तीव्र गतिमा एमपक्स संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको छ।
 

छिमेकी मुलुक भारतमा एमपक्स संक्रमण पुष्टि भएपनि अझै नाकामा सतर्कता अपनाइएको छैन। पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स संक्रमणको जोखिम बढेको छ।

भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किदैछन्। भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा संक्रमणको जोखिम बढेको हो। 

हेल्थ डेस्कमा एमपक्स जाँच गर्ने मेसिन मात्रै होइन्, त्यहाँका स्वास्थ्यकर्मीलाई  तालिम पनि दिइएको छैन। स्वास्थ्यकर्मी भारतबाट फर्किनेहरुमा आँखाले लक्षण हेरेर नाकामा प्रवेश दिइरहेका छन्। शंकास्पद लक्षण देखिएमा उनीहरुलाई अस्पताल जान सल्लाह दिन्छन्। 

तर, उनीहरु अस्पताल जान्छन् कि जाँदैनन्? यकिन छैन। नाकामा कडाई नहुँदा एमपक्सको जोखिम बढेको हो। 

उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताइन्। 

‘हामीसंग उपकरण छैन। एमपक्स सम्बन्धि कुनै तालिम पनि पाएका छैनौँ,’ उनले भनिन्, ‘नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा अस्पताल जान भन्छौँ।’

उनका अनुसार भारतबाट आउनेहरुमा लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ्ग मात्रै गर्ने गरिन्छ। अहिलेसम्म शंकास्पद लक्षण देखिएका ७ जनालाई अस्पताल रेफर गरिएको छ। 

भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाई सय मानिसको स्क्रिनिङ्ग भइरहेको छ। पैदल हिँडेर आउने मानिस स्क्रिनिङ्ग पर्ने भएपनि सवारी साधनबाट आउने मानिसको स्क्रिनिङ्ग नै गर्न नसकिएको ल्याब टेक्निसियन धामीले बताइ्न। 

गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादूनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन्। करिब एक दर्जन बसमा आउने यात्रु जाँच नगरीकनै भित्रिने गरेका छन्।

कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण संक्रमणको जोखिम छ। अझै चाडपर्व नजिकिँदै गएकाले भारतबाट स्वदेश फिर्ता हुनेको चाप बढ्ने भएकाले पनि एमपक्सको जाँचमा कडाइ गर्नु पर्ने आवश्यकता छ।

भारतबाट आउने मानिसका कारण एमपक्सको जोखिम बढेको स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश  जोशीले बताए। नाकामा स्क्रिनिङ्ग मात्रै भइरहेको र एमपक्सको जाँचमा कडाइमा गर्न नसकिएको उनको भनाइ छ। 

‘एमपक्स जाँचका लागि हामीसँग किट उपलब्ध छैन। स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको छ। हामीले त्यही अनुसार गरिरहेका छौं,’ उनले भने, ‘स्क्रिनिङ्गमा शंकास्पद देखिएकालाई अस्पताल जान भनेर काउन्सिलिङ्ग गर्ने गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .