ad ad

समाज


नुवाकोट लैजाने कैदीको सूची तयार हुँदै, सुन्धारा कारागारमा बिरामी र बन्दी मात्रै राखिने

नुवाकोट लैजाने कैदीको सूची तयार हुँदै, सुन्धारा कारागारमा बिरामी र बन्दी मात्रै राखिने

उजिर कार्की
असोज १, २०८१ मंगलबार १९:४, काठमाडौँ

नुवाकोटको कारागार सञ्चालनमा आएसँगै कारागार व्यवस्थापन विभागले त्यहाँ लैजाने कैदीहरूको सूची तयार पार्न थालेको छ। धेरै चाप भएका कारगारबाट अन्तिम फैसला भइसकेका कैदीहरूमध्ये त्यहाँ जान चाहने कैदीको सूची कारागार व्यवस्थापन विभागले माग गरेको हो। 

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने, ‘केन्द्रीय कारागारसहित चाप बढी भएका कारागारबाट नुवाकोटको कारागारमा जान चाहने कैदीको सूची माग गरिसकेका छौँ। केन्द्रीय कारागारले सूची पठाउने क्रममा छ। सूची आइसकेपछि हामी निर्णय गरेर पठाउँछौँ। ढिलोमा पनि अर्को सातासम्ममा थप डेढदुई सय कैदी नुवाकोट पुग्छन्।’

नुवाकोटमा केन्द्रीय कारागार बनाउने निर्णयसहित पहिलो चरणमा तयार भएको कारागार भदौ १५ गते गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका थिए। सञ्चालनमा आएसँगै त्यहाँ अहिले नुवाकोटकै पुरानो कारागारका १४७ जना कैदी बन्दीलाई सारिसकिएको छ। 

पहिलो र दोस्रो चरणको काम सम्पन्न भएसँगै अहिले कारागारमा एक हजार ३७० जना कैदी राख्न सकिने कारागारका जेलर इन्द्र खतिवडाले बताए। तयार भइसकेका ५ वटा ब्लकमध्ये एउटा ब्लक महिला बन्दीका लागि छुट्याइएको छ। उक्त ब्लकमा २५० जना कैदी राख्न सकिन्छ। 

तर कारागारको अझै तीन चरणको निर्माण बाँकी नै छ। तेस्रो चरणमा झण्डै ५ हजार ५०० जना कैदी राख्न सकिने गरी भवनहरू निर्माण गर्ने योजना रहेको महानिर्देशक भट्टराईले बताए। गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन नहुँदा काम रोकिएको छ। 

चौथो चरणमा कारागारभित्रै विद्यालय, कलेज र अस्पताल तयार गर्ने योजना छ। पाँचौँ चरणमा बायोग्यास प्लान्ट र बाहिरी कम्पाउन्ड तयार गर्ने भनिएको छ। 

पहिलो चरणमा रोजाइने, बाँकी कारागारले नै छान्ने 
निर्माण भइसकेको कारागारमा यो वर्षभित्रैमा एक हजार ३७० जना कैदी राख्ने योजना रहेको विभागका महानिर्देशक भट्टराईले बताए। 

अहिले नुवाकोटकै पुरानो ारागारका सबै कैदी र बन्दीलाई नयाँ कारागारमा सारिएको हो।

आगामी साता थप कैदी त्यहाँ लैजाने कारागार व्यवस्था विभागले जनाएको छ। त्यहाँ जाने कैदीको सूची विभिन्न कारागारबाट संकलन भइरहेको भट्टराईले बताए। 

अहिले चाप धेरै भएका कारागारका कैदी सार्ने तयारी गरिएको हो। पहिलो चरणमा नुवाकोट लैजाने कैदी छान्नका लागि अहिले कैदीलाई नै रोजाइरहेको केन्द्रीय कारागार सुन्धाराका जेलर कृष्णबहादुर कट्वालले बताए। 

‘पहिलो चरणमा जो जो जान चाहन्छन्, उनीहरूलाई पठाउँछौँ। त्यसपछि अपुग हामी नै छानेर कारागार व्यवस्थापन विभागमा सिफारिस गर्छौं,’ कट्वालले नेपालखबरसँग भने, ‘कैदीलाई जबर्जस्ती लैजान पनि भएन। हामीले पहिलो चरणमा को को जान इच्छुक हुनुहुन्छ भनेर सोधेर त्यहाँ जान चाहनेलाई मात्रै पठाउँछौँ।’

यसरी आफैँ जान चाहने कैदीको संख्या कम भए कारागारले नै छानेर पठाउने छ। अहिले देशका सबै कारागारमा चापको अवस्था हेरेर लैजाने तयारी गरिएको छ। 

‘सूची फाइनल भइसकेको छैन। एकदुई दिनमै सबै कुरा फाइनल हुन्छ र कैदीलाई त्यहाँ लगिन्छ,’ भट्टराईले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेको काठमाडौँको चापलाई कम गर्ने हो। त्यसपछि बाहिर जिल्लामा भएको चापलाई काम गर्दै लैजाने हो। विस्तारै नुवाकोटमा कैदीको संख्या थपिँदै जान्छ।’

यसरी कैदीलाई नुवाकोट पठाउँदा अन्तिम फैसला भइसकेका कैदीलाई मात्रै पठाइने छ। जिल्ला अदालतबाट दोषी ठहर भएर उच्च अदालतमा पुनरावेदन गरेका कैदीलाई पठाइने छैन। यस्तै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका र सर्वोच्चको फैसला हुन बाँकी रहेका कैदीलाई पनि नपठाउने भएको छ। 

उनीहरूलाई बेलाबेलामा अदालतमा उपस्थित गराउनु पर्ने भएकाले नुवाकोट नलगिने विभागले जनाएको छ। अन्तिम फैसला भइसकेका पुराना कैदीलाई मात्रै नुवाकोट लगिने महानिर्देशक भट्टराईले बताए। 

सुन्धारामा बिरामी र बन्दी
कारागार व्यवस्थापन विभागको दीर्घकालीन योजना भने सुन्धारा कारागार खाली गराएर केन्द्रीय कारागार नै नुवाकोटलाई बनाउने छ। तर त्यसका लागि सम्पूर्ण चरणको काम सम्पन्न हुनुपर्छ। त्यतिन्जेल भने केन्द्रीय कारागार सुन्धारामा नै रहनेछ।

नुवाकोटमा थप संरचना बनेसँगै सुन्धाराबाट कैदीलाई सार्दै लगिने छ। तर यसरी सार्दा पनि दीर्घरोगका बिरामी र बन्दीलाई भने नपठाइने भएको छ। सुन्धारा कारागारभित्रै अस्पताल छ। देशभरका दीर्घ रोगका बिरामीहरूलाई सुन्धारा कारागारमै राखिएको छ। अस्पताल पनि भित्रै भएको र थप उपचार आवश्यक परे पनि अन्य अस्पतालमा लैजान सजिलो भएकाले दीर्घ रोगीहरूलाई त्यहीँ राखिने भएको हो।

केन्द्रीय कारागार, डिल्लीबजार र नक्खु कारागारबाट मुख्यगरी कैदीहरू नुवाकोट लगिन्छ। बाहिरका जिल्लाबाट पनि थोरथोरै संख्यामा पठाउन लागिएको विभागले जनाएको छ। 

अहिले तत्कालै ५ सय जति लैजाने तयारी रहेको महानिर्देशक भट्टराईले बताए। अहिले नै १ हजार ३७० जना कैदी राख्न सक्ने क्षमता रहेको जेलर खतिवडाले बताए। 

‘यही अनुसार कारागारमा पनि तयारी भइससकेको छ। यो वर्षभरि मा हामी १ हजार ३७० जना त्यहाँको कारागारमा लैजान्छौँ। अर्को सातासम्ममा त्यहाँ थप कैदी लैजान्छौँ। काठमाडौंपछि वीरगन्ज र मकवानपुरको भीमफेदीबाट कैदीलाई त्यहाँ लैजाने योजना छ,’ भट्टराईले भने। 

३० वटा गोलघर तयार
नुवाकोटको कारागारभित्र ३० वटा गोलघर तयार गरिएको छ। निकृष्ट प्रकृतिका अपराध गरेका व्यक्ति, भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्ति र उनीहरूका कारण अन्य कैदी असुरक्षित हुने अवस्था भएमा त्यस्ता कैदीलाई गोलघरभित्र राखिन्छ।

गोलघरभित्रका कैदीले अन्य कैदीले जति स्वतन्त्रता पाउँदैनन्। उनीहरूलाई भेटघाटमा समेत कडाइ गरिन्छ भने टेलिफोन गर्दा समेत प्रहरीले निगरानी गर्छ। 

यसलाई विशेष सुरक्षा कक्ष पनि भनिन्छ। यस्ता कक्षमा यसअघि सिरियल किलर चाल्र्स शोभराज, गुण्डा नाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकाल लगायतलाई राखिएको थियो।

गत वर्षको संविधान दिवसमा माफी दिएर छाडिएका ढकाललाई भने सर्वोच्च अदालतले माफी दिने निर्णय बदर गर्दै पुनः कारगारा फर्काइदिएको छ। 

यस्तै काठमाडौँको तीनकुनेमा ४ जनाको हत्या गरेका सञ्जय भण्डारीलाई पनि गोलघरभित्रै राखिएको छ। उनीबाट अन्य कैदी असुरक्षित हुनसक्ने भन्दै गोलघरमा राखिएको हो। 

गोरे भन्ने चुडामणि उप्रेतीलाई पनि गोलघरभित्रै राखिएको छ। निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका योजनाकार समिरमानसिंह बस्नेत, सिरियल किलरका रुपमा चिनिएका अभिषेकराज सिंहलाई पनि गोलघरमा राखिएको छ।

१८ जनाको हत्या आरोपित उनलाई पहिले नक्खु कारागारमा राखिएको थियो। तर कारागारभित्रै अर्का कैदीलाई खानामा विषादी हालेर हत्या गरेको पाइएपछि उनलाई पनि केन्द्रीय कारागारको गोलघरमा सारिएको हो। 

७ वटा गोलघर रहेको केन्द्रीय कारागारमा हाल ७ जना कैदीलाई नै गोलघरमा राखिएको छ।

नुवाकोटमा बस्न सहज
अन्य कारागारको तुलनामा नुवाकोटको कारागारमा बस्नलाई सहज रहेको विभागले जनाएको छ। त्यहाँ सबै संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको विभागको दाबी छ। 

‘अन्य कारागारमा जस्तो त्यहाँ चाप हुँदैन। एउटा कोठामा कतिजना राख्नु पर्ने हो, त्यति नै राखिन्छ। सबैकुरा मापदण्ड अनुसार नै तयार छ,’ विभागका महानिर्देशकले भने, ‘पछि त त्यहाँ काम गर्न चाहनेहरूका लागि विभिन्न कामको व्यवस्था हुन्छ।’

नुवाकोट कारागारमा वर्कसपसँगै गलैँचा र मुढा बनाउने काममा कैदीलाई लगाउने तयारी भइरहेको छ। भोलिका दिनमा कैदीले काम गर्न इच्छा गरेका अरु व्यवसाय पनि थप गरिने कारागार प्रशासनले जनाएको छ।
 
यस्तै कारागारभित्रै विद्यालय, फुटबल मैदान र अस्पताल पनि हुनेछ। सबै संरचना भएपछि नुवाकोटको कारागारमा ७ हजार कैदी राख्न सकिने छ। यो भनेको देशका सबै कारागारको संख्याभन्दा पनि बढी हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .