ad ad

राजनीति


रास्वपामा कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव

महिला उपसभापति थपिने, प्रतिनिधिले भने- सभापतिलाई सहज टिम बनाउन दिऊँ
रास्वपामा कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव

नेपालखबर
असोज १, २०८१ मंगलबार १९:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला काठमाडौँमा जारी छ।

मंगलबार बिहान सभापति रवि लामिछानेसहित सबै प्रतिनिधिले 'घण्टी' बजाएर उद्घाटन गरेको भेला बुधबार निरन्तर रहने गरी आजलाई स्थगित गरिएको छ। भेलामा देशभर र प्रवाससमेतका गरी १ हजार ५ सय प्रतिनिधि सहभागी छन्। 

भेलाको पहिलो दिन प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका छन्। कोसीका सभापित राजेश तिमल्सिना, मधेसका तपेश्वर यादव, बागमतीका अच्युतम लामिछाने, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले विचार, संगठन, कार्यशैली  र जनसरोकारका मुद्दामा पार्टीले लिनुपर्ने नीतिबारे पनि सुझाव दिए।

आज नै 'ओपन सेसन'अन्तर्गत कम्तीमा ५० जना प्रतिनिधिले धारणा राखेको रास्वपाले जनाएको छ। उनीहरूले नेतृत्वको रक्षा गर्नुपर्ने, सभापतिलाई सहज हुने गरी टीम बनाउन दिनुपर्ने, पार्टी विस्तारलाई तीव्रता दिनुपर्ने, तल्लो स्तरका संगठन बलियो बनाउनुपर्ने, केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, समितिहरू समावेशी हुनुपर्ने, पुराना दलको जस्तो सोच र कार्यशैली हुन नहुनेलगायत सुझाव दिए। 

आज नै कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरे। सदस्यता शुल्क स्वेच्छिक बनाउँदा पार्टीको स्रोत घटेको तथ्य राखिएको प्रतिवेदनमा आर्थिक सुदृढीकरणका लागि 'पार्टी पिलर'को अवधारणा अघि सारिएको छ।

आज नै अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन पेस गरे।

यस्तै, उपसभापति स्वर्णिम वाग्लेले 'नीति-विचार' प्रतिवेदन पेस गरे।

वाग्लेले २०८० मंसिरमा जलेश्वर बैठकले पारित गरेको 'नीति-विचार' प्रस्तावनाको संक्षिप्त व्याख्यासहित प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संक्षिप्त प्रतिवेदन छलफलमा लैजाने र पहिलो महाधिवेशनबाट पूर्णता दिइने जानकारी पनि दिए। २०८२ को वैशाखमा महाधिवेशन गर्ने रास्वपाको प्रस्ताव छ। 

भेलामा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी विधान संशोधनको प्रस्ताव पेस गरे। प्रस्तावमा एक-एक महिलासहित ३/३ जना उपसभापति र सहमहामन्त्री प्रस्ताव गरिएको छ। केन्द्रीय कार्यसमितिमा हाल स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल दुवै पुरूष उपसभापति छन्।

कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव पनि गरिएको छ। 

रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागले भेला स्थलमै संयोजन गरेको रक्तदानमा ९२ जनाले रक्तदान गरेका छन्। भेलास्थलमा स्वदेशी उत्पादनको प्रदर्शनी/बिक्री कक्ष पनि राखिएको छ।

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुनेछ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ।

सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि सकिनेछ।

लामिछानेको सम्बोधनः बाहिरको जति पनि प्रहार खेप्छु, भित्रबाट प्रहार नगर्नुस्
भेलालाई सभापति लामिछानेले आधा घण्टाभन्दा केही बढी समय भाषण गरे। उनले उनले आफूमाथि चौतर्फी प्रहार भएको भन्दै त्यसबाट नआत्तिन पार्टी पंक्तिलाई आग्रह पनि गरे। आफूमाथि लागेका आरोपहरूलाई स्वाभाविकरूपमा लिन भन्दै उनले आश्वस्त पार्ने प्रयास पनि गरे।

भिडिओमा हेर्नुहोस् रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको सम्बोधनः

रास्वपाको आगमन पुराना पार्टीको लागि टाउको दुखाइको विषय भएको उनको भनाइ थियो। 

रास्वपा केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेको भने, ‘हाम्रो आगमन नै अरुका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरुको टाउको दुखिरहन्छ।’

उनले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताए।  ‘हाम्रो हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि हो। कसैलाई आक्षेप लगाउन होइन,’ सम्बोधनको क्रममा लामिछानेले भने, ‘तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने हामीलाई के भन्नु!’ 

उनलले कतिपयले रास्वपा सकियो भनेर प्रचार गरिरहेको पनि बताए। ‘रास्वपा सकियो भनेर गरिएको प्रचार हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्,’  उनले भने, ‘दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौँ? हामी त झन् फैलँदै छौँ।’ 

उनले २०७९ को चुनाव आफ्नो लागि २०८४ मा चुनाव लड्नको लागि दिएको निम्ता कार्ड मात्रै भएको तर्क गरे। ‘निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौँ भने चुनावै लड्दा त के होला?,’ उनको प्रश्न थियो। 

उनले संसदीय समितिले दिएको निश्कर्षमा कतिपयलाई चित्त नबुझेको बताए। ‘किनभने, उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन दिएन। सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन। समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो?’ उनले भने। 

उनले सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर कुरा मोडिने तर्क गरे। ‘गलत नगर्दा जता मोडियोस् के मतलब? केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए। त्यो होइन रहेछ। उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन्,’ लामिछानेले भने। 

कतिपयलाई रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने लागेको बताए। ‘रवि नभए पनि रास्वपा अब अभियानका रुपमा अगाडि बढ्छ,’ लामिछानेले भने, ‘घण्टी चुनाव चिन्ह मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ? रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन्।’ 

दुई दल मिलेर दुई तिहाईको सरकार बनाएको प्रसंग झिक्दै उनले जनताको पक्षमा काम गरेर आफूहरुको आवश्यकता र औचित्यलाई गलत सावित गर्न चुनौति दिए। 

आफू बाहिरको प्रहार जति पनि खेप्न तयार रहेको बताए। ‘म बाहिरको प्रहार जतिपनि खेप्छु, खेप्छौँ। भित्रबाट प्रहार नगर्नुस्। हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौँ,’ उनले भने। 

आफूहरु सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको बताए। उनले भने, ‘सरकारमा गएर हामीले सक्दो गर्यौँ पनि। सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिन। समात्नुपर्ने ठूला माछा धेरै छन्। ढिलो–चाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउने छ।’

सभापति लामिछानेले रास्वपा नसकिएको, बरु अरूलाई सिध्याउने चेतावनीसमेत दिए। 

भेलालाई सम्बोधनका क्रममा उनले कुनै विशेष परिस्थिति नभई देशका दुई ठूला दल मिल्छन् भने आफूहरूले सिध्याउने चेतावनी दिएका हुन्। 

‘वर्षौंदेखि सदनमा रहेका भन्दा भर्खरै आएका दलका बारेमा चर्चा चल्छ। चौथो पार्टी महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा जान्छ,’ सम्बोधनको क्रममा लामिछानेले भने, ‘सरकारमा गएर काम गर्दै जाने क्रममा दुई राजनीतिक दलहरू न कुनै भूकम्प, न कुनै महामारी, न कुनै आक्रमण, न कुनै किसिमको थ्रेट र आन्दोलन। रातारात मिल्छन् भने सम्झनुहोस्, रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ।’

उनले रास्वपा जन्मिएदेखि अहिलेसम्म कुनै न कुनै अप्ठेरा आइरहेको पनि बताए। 

‘यो पार्टीको जन्मदेखि अहिलेसम्म कुनै न कुनै अप्ठेराले छाडेको छैन। तर ती समस्याहरूमा हाम्रो केही पनि भूमिका छैन। हाम्रो आगमन नै अरुका लागि समस्या भयो त हामी के गरुँ?,’ लामिछानेले भने, ‘यो समस्या त हुन्छ हुन्छ, जबसम्म दुई तिहाइ प्राप्त गरेर रास्वपाले यो देश हाँक्दैन, यो समस्या आइरहन्छन्।’

उनले ०८४ को निर्वाचनका लागि आफूहरूले ०७९ मा निम्तो मात्रै दिएको पनि जिकिर गरे। 

‘कयौँ साथीहरू हारेकोजस्तो भन्नुहुन्छ। युद्ध नै नलडी हारेको मान्नुहुन्छ तपाईं? ०७९ को चुनाव ०८४ मा चुनाव लड्नका लागि दिएको निम्तो, कार्ड हो। हामीले लड्ने लडाइँ कोही टुहुरो हुनुपर्दैन। कसैको सिउँदो पुछिने छैन। कोही अंगभंग हुने छैनन्। कसैको रगतको थोपो पनि चुहिने छैन। शान्त विद्रोह गर्न चाहन्छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .