ad ad

समाज


एमपक्सको तयारीबारे स्वास्थ्य अधिकारी : कोभिडकै बेलाको संयन्त्र ‘एक्टिभेट’ भएको छ

एमपक्सको तयारीबारे स्वास्थ्य अधिकारी : कोभिडकै बेलाको संयन्त्र ‘एक्टिभेट’ भएको छ

गीता चिमोरिया
भदौ ९, २०८१ आइतबार २०:१०, काठमाडौँ

१४ अगस्ट २०२४ (३० साउन २०८१) मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एमपक्स (मंकीपक्स) संक्रमणका कारण विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्‍यो। 

दुई वर्षमा एमपक्स सम्बन्धी यो दोस्रो आपतकालीन चेतावनी हो। एमपक्ससम्बन्धी विश्वव्यापी स्वास्थ्य आपतकाल पहिलोपटक सन् २०२२ मा घोषणा गरिएको थियो। यो भाइरस हालसम्म ७० देशमा फैलिसकेको छ। 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुरुन्डी, क्यामरुन, मध्य अफ्रिकी गणतन्त्र, प्रजातान्त्रिक गणतन्त्र कंगो, घाना, आइभोरी कोस्ट, केन्या, लाइबेरिया, मोजाम्बिक, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, रिपब्लिक अफ कंगो, रुवाण्डा, दक्षिण अफ्रिका, स्वीडेन, थाइल्यान्ड र युगान्डा गरी १८ देशमा एमपक्सका केस रिपोर्ट गरिएको छ। 

भदौ २ गते स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्ति निकाल्दै नेपालमा पनि यसको जोखिम रहेकाले सचेत हुन आग्रह गरेको थियो। 

नेपालमा पहिलोपटक गएको वर्ष असारमा एकजना ६० वर्षीया विदेशी महिलामा एमपक्स रोगको संक्रमण पुष्टि भएको थियो। 

नेपालमा एमपक्सको जोखिम र यसमा सरकारले गरिरहेको पूर्व तयारीका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत/सूचना अधिकारी रविकान्त मिश्रसँग नेपालखबरले गरेको कुराकानी :

विश्व स्वास्थ्य संगठनले एघार दिनअघि एमपक्स संक्रमणका कारण विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्‍यो। त्यसयता नेपाल सरकारले पूर्वतयारीका कस्ता कामहरू गरेको छ? 
अहिले अन्तर्राष्ट्रिय विमानस्थल र झन्डै १६ वटा स्थलगत नाकामा हाम्रो हेल्थ डेस्क छ। अफ्रिका लगायत सबै देशहरूबाट आउनेहरूका लागि स्क्रिनिङ गर्छौं। एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएकाहरूलाई जाँच गर्न पठाउँछौँ। लक्षण छैन भने उहाँहरू नेपाल छिर्नुहुन्छ, होइन भने हामी उहाँहरूलाई निगरानीमा राख्छौँ। 

यसबाहेक नीतिगत रुपमा कस्ता छलफल र तयारी गर्नुभएको छ?  
यस रोगको पूर्वतयारी अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विषय विज्ञहरूसँग सुझाव लिइसकेको छ। यसबारेको कुनै पनि जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा छ। सरुवा रोगको निगरानी गर्ने तीनै तहका निकायहरूलाई सतर्क गराइसकिएको छ। 

हामीले प्रदेशहरूमा रहेका अस्पतालहरूलाई एमपक्ससँग मिल्दोजुल्दो लक्षणहरू देखिएमा नमुनाहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाउनु भनेका छौँ।
 
सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकिएको छ। मन्त्रालयले पूर्वतयारीका कामहरू गरे पनि आम नागरिकले जनस्वास्थ्यका मापदण्डहरू पालना नगरेमा यसको रोकथाम र नियन्त्रण सम्भव हुँदैन। त्यसैले नागरिकले पनि यसमा सचेतता अपनाउनु पर्छ।

एमपक्सका बारेमा आम नागरिकले थाहा पाउनै पर्ने कुराचाहिँ के के हुन्? 
मङ्कीपक्स भाइरसका कारण एमपक्स हुने गर्छ। ज्वरो आउने, ज्वरो आउनेबित्तिकै छाला, अनुहार, हत्केला अथवा पैतालामा बिमिराहरू देखापर्ने हुन्छ। त्यो बिमिराहरू फोका हुने, पाप्रा हुने, घाउ हुने, मांसपेशी दुख्ने अथवा ग्रन्थीहरू बढ्ने, आँखामा संक्रमण हुने भयो भने त्यो एमपक्स हो। हामी त्यसलाई यसरी पहिचान गर्छौं। 

अहिले हाम्रो ठ्याक्कै अफ्रिकी देशसँग जोडिएर अन्तर्राष्ट्रिय यात्रा तुलनात्मक रुपमा कम हुन्छ। हाम्रो अरू देशबाट जोडिने भएर त्यहाँ पुगेर आउनेहरूको लागि हामीले विशेष निगरानी गर्छौं। 

नागरिकले थाहा पाउनुपर्ने विषय भनेको, अन्तर्राष्ट्रिय यात्रा गर्दा आफू जोगिनुपर्‍यो। जोगिने कसरी भन्दा, यो मान्छेहरूको सम्पर्कबाट सर्छ। श्वासप्रश्वासबाट पनि सर्न सक्छ, मास्क लगाउनपर्‍यो। र, त्यो ठाउँहरूमा भिजिट गर्ने बेलामा अलर्ट हुनुपर्‍यो। त्यहाँबाट फर्किनेहरूले पनि लक्षण छैन भने पनि नेपाल आइसकेपछि केही समय (जोखिम क्षेत्रबाट आएको हो भने) छुट्टै बसेर अनि मात्रै अरूसँग घुलमिल हुनपर्‍यो।    

अघिल्लो वर्षको असारमा नेपालमा एकजना विदेशी महिलालाई यसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि नेपालमा कुनै पनि त्यस्तो केस देखिएको छ? 
हाम्रो ल्याबबाट प्रमाणित भएको त्यही एउटा केस मात्रै हो, अरू छैन। अन्य त्यस्तो घटना भएको खण्डमा सरकारले/स्वास्थ्य मन्त्रालयले यहाँहरूलाई जानकारी गराइहाल्छ।  

नेपालमा एमपक्सको जोखिमबारे स्वास्थ्य मन्त्रालयको आकलन के हो? 
अहिले विश्व ग्लोबलाइज्ड छ। सानो घरजस्तो छ विश्व नै। अहिले यात्राहरूलाई रोकेर रोक्न सकिँदैन। त्यो हिसाबले हामीले पूर्वतयारी, प्रतिकार्य गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्छ, जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्छ भनेर मन्त्रालयले केही दिनअघि भनिसकेको छ।

कुनै समस्या भयो भने तपाईंहरूले १११५ मा सम्पर्क गर्नुभयो भने जसले पनि यसबारे जानकारी पाउनुहुन्छ।   

कोभिडको बेलामा जुन संयन्त्र प्रयोग भइरहेको थियो, त्यही संयन्त्र अहिले एक्टिभेट भएको अवस्था हो। 

हुन त यो नयाँ रोग उच्च संक्रामक छ तर यसबारेमा हाम्रा चिकित्सकहरू परिचित र जानकार हुनुहुन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .