समाज


सुदूरपश्चिममा डेंगी संक्रमितको संख्या बढ्यो

सुदूरपश्चिममा डेंगी संक्रमितको संख्या बढ्यो

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८१ बुधबार १३:५०, काठमाडौँ

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गीलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गीको सङ्क्रमण पनि बढ्दै गएको बताए। उनका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ। सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उनले जानकारी दिए।

निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा डेङ्गी सङ्क्रमण देखिएको छ।

‘पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ’, जोशीले भने, ‘अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन्। पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्ने छ।’ उनले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए।

डेङ्गी नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए।

स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ।

निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेङ्गी सङ्क्रमण देखिनाका साथै चारजनाको मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad