भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको पश्चिमी सीमामा कडाइ गरेको छ। कञ्चनपुरस्थित गड्डाचौकी नाका भएर भारत प्रवेशमा कडाइ गरिएको हो।
केही दिनयता भारतीय एसएसबीले गड्डाचौकी नाकामा अनावश्यक सास्ती दिने गरेको नाका भएर ओहोरदोहोर गर्ने नेपाली नागरिकले गुनासो गरेका छन्।
‘उप्परका आदेश’ भन्दै एसएसबीले अनावश्यक खानतलासी गर्ने, बिनाकारण नाकामा नेपालीलाई रोकेर दुःख दिइरहेको उनीहरुको गुनासो छ।
‘नाकामा एसएसबीले नेपालीलाई अनावश्यक दुःख दिएको छ, बिनाकारण रोकेर लाइनमा राख्ने गरेको छ,’ शुक्रबार गड्डाचौकी भएर भारत गइरहेका स्थानीय नेत्रराज भट्टले भने, ‘उपरका आदेश भनेर यात्री र सवारी साधन दुवैलाई अनाश्यक केरकार गरिरहेका छन्।’
नाकामा भारतीय एसएसबी विगतभन्दा भिन्न व्यवहारमा प्रस्तुत हुँदा पनि नेपाली प्रशासन मुकदर्शक बनेर बसेको आरोप छ।
भारतीय एसएसबीले गड्डाचौकी नाका भएर भारत प्रवेश गर्दा परिचय खुल्ने प्रमाण पत्र अनिवार्य गरेको छ।
एसएसबीले कागजपत्र जाँच गरेपछि मात्रै भारत प्रवेश गर्न दिइरहेका छन्। कागजपत्र नहुनेलाई नाकाबाट एसएसबीले घर नेपालतिरै फर्काइरहेका छन्।
‘विगतमा हामी प्रमाण पत्र नभए पनि भारततर्फ जान्थ्यौं, नेपालमा नयाँ सरकार बनेयता एसएसबीले कडाइ गरेको हो,’ भट्टले भने, ‘कि त नाका पूरै सिल गर्नुपर्यो, होइन भने आवागमन सहज बनाउनुपर्छ।’
किनमेल र उपचारका लागि भारत गइरहेका नेपालीलाई नाकामा रोकेर एसएसबीले सास्ती दिइरहेको उनले बताए।
‘हेल्मेट हालेर जानुपर्ने ठाउँमा हेल्मेट निकालेर जाऊ भन्छन्, कागजपत्र अनिवार्य गरेका छन्, नभएकालाई फर्काउँदैछन्,’ उनले भने, ‘नेपालतिर भारतीयले कागजपत्र देखाउनु पर्दैन, सहजै आइरहेका छन्।’
नाकामा भारतीय पक्षले जाँचमा कडाइ गरेपछि किनमेल तथा उपचारका लागि जाने नेपालीले सास्ती भोग्नु परेको हो।
भारत प्रवेशका लागि एसएसबीले परिचय खुल्ने प्रमाण पत्र अनिवार्य गरेको गड्डाचौकी नाकामा तैनाथ एक सुरक्षाकर्मीले बताए।
‘एसएसबीले अचेल कागजपत्र खोजी गरिरहेका छन्,’ ती सुरक्षाकर्मीले भने, ‘अगाडि त्यस्तो हुदैनथ्यो, हामी नेपाल प्रवेश गर्दा गाडीहरु इन्ट्री गरेर आउन दिन्छौं।’
जनवरी २६ मा गणतन्त्र दिवस भएकाले त्यसकै सुरक्षाका लागि भारतीय पक्षले नाकामा कडाइ गरेको हुनसक्ने उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी बताउँछन्।
विगतमा पनि यस सयम नाकामा कडाइ हुने गरेको उनले बताए। ‘अन्तर्राष्ट्रिय नाका भएकाले जनवरी २६ लाई मध्यनजर गरेर भारतले कडाइ गरेको हुनसक्छ,’ उनले भने, ‘आतंकवादी घटना हुनसक्ने भएकाले गणतन्त्र दिवस अघि पनि नाकामा कडाइ गरिन्थ्यो।’
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने यस बारेमा भारतीय पक्षले आफूहरुलाई कुनै जानकारी नदिएको जनाएको छ।
‘पारिबाट नाकामा कडाइ गर्ने भनेर प्रशासनलाई कुनै पूर्वजानकारी छैन,’ सीडीओ गोपालप्रसाद अर्यालले भने।
प्रतिक्रिया