ad ad

समाज


राजु सदा मृत्यु प्रकरण : छानविनका लागि प्रदेश सरकारले बनायो समिति

राजु सदा मृत्यु प्रकरण : छानविनका लागि प्रदेश सरकारले बनायो समिति

शैलेन्द्र महतो
असार १२, २०७७ शुक्रबार ६:२५,

प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएका १६ वर्षीय किशोर राजु सदाको घटना विषयमा छानविन गर्न प्रदेश २ सरकारले छानविन समिति गठन गरेको छ।

प्रदेश २ सरकारले  राजुको मृत्युको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको हो।

समितिका सदस्यमा समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान रहेका छन्।

समितिले राजुको मृत्यु के कति कारणले भएको हो भन्ने अध्ययन तथा अनुसन्धान गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न समाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

राजुको मृत्युको सन्दर्भमा उपचारमा संलग्न चिकित्सकहरुको टोलीले मेडिकल अडिट प्रतिवेदन प्रादेशिक अस्पताललाई बिहीबार बुझाइसकेको छ।

प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. कुल्दीप पण्डितले राजुको मृत्यु सन्दर्भमा बुझाएको प्रतिवेदनमा उनलाई इन्सेफ्लाइटिस रोगको भएको र सो रोगको उपचार नभएका कारण मृत्यु भएको उल्लेख छ।

उपचारमा संलग्न चिकित्सकहरुको टोलीले बुझाएको प्रतिवेदन लगायत अन्य सान्दर्भिक तथ्य, तथ्यांक , सूचना र सोको स्रोत समेतलाई अध्ययन एवं विश्लेषण गरी पेश गर्न छानविन समितिलाई निर्देशन दिएको हो।

छानविनको क्रममा मृत्यु भएका राजुको उपचार व्यवस्थापन वा सेवा प्रवाहामा कहीँ कतैबाट कमीकमजोरी वा लापरवाही भएको पाइए कानुन बमोजिम कारबाही समेत गर्ने समाजिक विकास मन्त्रालयले जनाएको छ।

धनुषको हंशपुर नगरपालिका ७ प्रसाहीका राजु सदाको क्वारेन्टिनमा आरडीटीमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २९ गते प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा उदासिन रहे। पीसीआर टेस्टको लागि स्वाब संकलन गरिए पनि समयमा रिपोर्ट आएन। असार ८ गते आएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सिकिस्त अवस्थामा पुगिसकेका उनलाई अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो।

समयमै उपचार नहुँदा राजुको गएको मंगलबार प्रादेशिक अस्पतालको इमरेजन्सी कक्षमा मृत्यु भएको थियो।

भारतको मदरासबाट झण्डै एकसाता लगाएर साथीभाइसँग घर फर्केका राजलाई हंसपुर नगरपालिका ७ को क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टिनमा बसेको १० दिनपछि राजुलगायतको आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। दुर्इ दिनपछि आफूलाई सञ्चो नभएको बताएपछि उनलाई प्रादेशिक अस्पतालको आइसोशन कक्षमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .