राजनीति


अम्बानी प्रकरणले उथलपुथल, गृहमन्त्री देशमुखले राजीनामा दिएसँगै महाराष्ट्र सरकार धरापमा

अम्बानी प्रकरणले उथलपुथल, गृहमन्त्री देशमुखले राजीनामा दिएसँगै महाराष्ट्र सरकार धरापमा

नेपालखबर
चैत २४, २०७७ मंगलबार १०:३,

भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरनजिक विस्फोटक पदार्थ (जिलेटिन) हालेर स्कार्पियो गाडी छाडिएको प्रकरणमा मुम्बईका प्रहरी प्रमुखबाट हटाइएका परमवीर सिंहले लगाएको गम्भीर आरोपका कारण आफ्ना गृहमन्त्री अनिल देशमुखले राजीनामा दिएपछि महाराष्ट्र राज्य सरकार धरापमा परेको छ।

अम्बानीको घरनजिक विस्फोटक पदार्थसहितको गाडी राखेको अभियोगमा मुम्बईका तत्कालीन सहायक प्रहरी निरीक्षक सचिन वझे पक्राउपछि गृहमन्त्री देशमुखले परमवीर सिंहलाई त्यहाँको प्रहरी आयुक्त (प्रमुख) पदबाट हटाएका थिए। त्यसपछि सिंहले गृहमन्त्री देशमुखले हाल निलम्बित सहायक प्रहरी निरीक्षक वझेलाई व्यापारीहरूबाट मासिक सय करोड असुली गर्न र आफूलाई रकम बुझाउन निर्देशन दिएका थिए भनेर आरोप लगाउँदै मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र पठाएका थिए। यसपछि विवादमा तानिएका गृहमन्त्री देशमुखबारे उच्च अदालतले नै अनुसन्धान गर्न सीबीआईलाई भनेपछि उनी राजीनामा गर्न बाध्य भएका हुन्।

बीबीसी हिन्दीका अनुसार योसँगै प्रश्न उठेको छ– सीबीआईले अनुसन्धानबाट उद्धव ठाकरेको सरकारलाई खतरा आइलाग्छ? निवर्तमान गृहमन्त्री देशमुखले मुख्यमन्त्री ठाकरेलाई बुभाएको राजीनामा पत्रमा भनिएको छ– आफ्नाबारे सीबीआईले अनुसन्धान गर्ने भएपछि पदमा बसिरहन नैतिक रूपमा उचित हुँदैन।

केवल २ महिनाभित्र महाराष्ट्र सरकारका २ मन्त्रीले राजीनामा दिइसकेका छन्। यसअघि वनमन्त्री सञ्जय राठौडले राजीनामा दिएका थिए। जसले गर्दा मुख्यमन्त्री ठाकरे नेतृत्वको सरकारको अस्तित्वमै प्रश्न उठ्न थालेको छ।

एकातिर सचिन वझेबारे नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले अनुसन्धान गरिरहेको छ भने अर्कातिर निवर्तमान गृहमन्त्री अनिल देशमुखको आरोप सम्बन्धमा सीबीआईले छानबिन गर्ने भएको छ। यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने दुवै एजेन्सी केन्द्रीय गृह मन्त्रालयको मातहतमा काम गर्छन्, यही कारण उद्धव ठाकरे सरकारको अस्तित्वमा प्रश्न उठिरहेको हो। ठाकरे सरकारलाई आगामी दिनमा चुनौती थपिने कुरालाई अस्वीकार गर्न सकिन्न। 

यो पनि : अन्ततः महाराष्ट्रका गृहमन्त्री देशमुखले दिए राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad