समाज


वीरगन्जका मेयर राजेशमान सिंह भारतको हरिद्वारमा साधुको भेषमा लुकेर बस्थे

वीरगन्जका मेयर राजेशमान सिंह भारतको हरिद्वारमा साधुको भेषमा लुकेर बस्थे

सुभाष कर्ण
जेठ १९, २०८३ मंगलबार १३:४३, जनकपुरधाम

नागरिकता किर्ते आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला अदालतमा उपस्थित गराएको छ ।

मंगलवार बिहान पर्साको ठोरी गाउँपालिकास्थित ठोरी भिलेज रिसोर्टबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी अदालतमा हाजिर गराइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए। 

उनका अनुसार अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको अदालतमा बुझाइएको हो।

नागरिक लिखत किर्ते सम्बन्धी मुद्दामा ८ जेठमा सिंहविरुद्ध पर्सा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। साथै, नागरिकता लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते पनि उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो।

मेयर सिंहलाई प्रहरीले अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए।

उनका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ। ‘अब कानुनी प्रक्रिया सुरु हुनेछ। बयान लिएपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने । त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानुनी प्रक्रिया अगाडि बढाइनेछ। 

उनी केही दिनदेखि भारतको हरिद्वार लगायतका विभिन्न स्थानमा साधुको भेषमा लुक्दै आएका पाइएको छ।

सोमबार बिहानी उनका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई ९ घण्टा हिरासतमा राखि बेलुका तिर छाडिएको थियो। प्रहरी श्रोतले जनाए अनुसार स्वकीय सचिवले दिएको जानकारीको आधारमा मेयर सिंहलाई पक्राउ गरिएको हो।

हुनत यसअघि पक्राउ पुर्जी जारी भएको भोलीपल्टै मेयर सिंह स्वेच्छाले अदालतमा उपस्थित भएका थिए। तर, मुद्दाको चापका कारण सो दिन सुनुवाइ हुन नसकेपछि उनी फर्किएका थिए। त्यसपछि भने उनी अदालत नगइ भागेका थिए। प्रहरीले उनको खोजी तीव्र पारेको थियो।

भारतको हरिद्वारमा उनी साधुको भेषमा लुक्दै आएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ। उनी साधु भेषमा हरिद्वारमा रहेको फोटो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।

अदालतसँग हाजिर हुन वातावरण मिलाउने चाँजोपाँजोमा रहेकै बेला उनका स्वकीय सचिव घिमिरे पक्राउ परेको भोली पल्टै उनीपनि ठोरीबाट पक्राउ परेका हुन्।

मेयर सिंहमाथि रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी भन्दै फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप ‍छ। सो प्रकरणमा उनकी कान्छी श्रीमती बताइने रिता भट्टराई र वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।

सरकारी वकिलको कार्यालयका अनुसार २०८० साल माघमा दर्ता भएको उजुरीका आधारमा सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते सम्बन्धी चार वटा मुद्दा दायर भएका छन्। तीमध्ये लिखत सम्बन्धी कसुरमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad