समाज


सर्लाहीमा दादुरा संक्रमण: ३५४५ बालबालिकालाई लगाइयो खोप

सर्लाहीमा दादुरा संक्रमण: ३५४५ बालबालिकालाई लगाइयो खोप

नेपालखबर
माघ १४, २०८२ बुधबार ६:४१, सर्लाही

तेइस जना बालबालिकामा दादुरा सङ्क्रमण फेला परेपछि सर्लाहीको मलङ्वामा खोप अभियान सुरु गरिएको छ। दादुरा सङ्क्रमण देखिएको मलङ्वा नगरपालिका–३, र त्यससँग जोडिएको वडा नं २, ४, ८, ९ र १० मा छ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा रुबेलाको खोप दिन सुरु गरिएको हो।

जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाका अनुसार दादुरा प्रभावित मलङ्वा नगरपालिका–३ सहित सिमाना जोडिएका अन्य पाँचवटा गरी ६ वटा वडाका आठ हजार बालबालिकालाई खोप लगाउन लागिएको छ। 

गत पुस २४ गते मलङ्वा नगरपालिका–३, मा रहेको मुस्लिम टोलमा एक पाँच वर्षका बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ल्याब परीक्षणको लागि टेकु काठमाडौँ पठाइएको थियो। ल्याब परीक्षणबाट उनमा दादुरा सङ्क्रमण पुष्टि भएको थियो। त्यस लगत्तै सङ्क्रमित बालकको सम्पर्कमा गएका अन्य बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २३ जनामा सङ्क्रमण फेला परेको डा झाले बताए।

दादुरा सङ्क्रमण पुष्टि भएका २३ जना बालबालिका छ महिनादेखि ११ वर्ष उमेर समूहका रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ। 

अहिले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको नगर स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए । त्यस लगत्तै परिवार कल्याण महाशाखा टेकुको निर्देशनमा, राष्ट्रिय खोप समन्वय समितिको निर्णय अनुसार प्रभावित क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिएको हो।

राष्ट्रिय खोप समन्वय समिति, मधेस प्रदेश मन्त्रालय, नगरपालिकासँग नजिकबाट समन्वय भइरहेको स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताए। 

दादुरा सङ्क्रमण फेला परेका क्षेत्रमा एकै पटक खोप र खोजी अभियान जारी राखिएको छ । यस क्षेत्रमा दूरी कायम गर्न, मास्कको प्रयोग अनिवार्य गर्न, दादुरासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न सूचना र घरदैलोमार्फत जानकारी गराइएको छ।

यस पालिकामा दुई वर्ष पहिला पनि एक जनामा दादुरा सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । तर, त्यसबेला परीक्षण नगरी लक्षण अनुसारको उपचारपछि बिमारी निको भएका डा झाको भनाइ छ । त्यसयता दादुराको कुनै बिमारी फेला नपरेका उनले बताए। यस पटक फेरि एक्कासि देखिएको दादुरा सङ्क्रमणले स्वास्थ्य महामारीको जोखिम निम्त्याएको उनले बताए।

प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, मधेस प्रदेश जनस्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, मलङ्वा नगरपालिका लगायतका निकायले समन्वय गरी विशेष खोप कार्यक्रम सुरु गरेका हुन्।

यही माघ १६ गतेसम्म लक्षित आठ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ। अहिले स्वास्थ्यकर्मीको टोलीले विद्यालय र मदरसामा पुगेर खोप लगाउन सुरु गरेका छन् । मङ्गलबारसम्म ३ हजार ५४५ जना बालबालिकालाई खोप लगाइसकेको नगर स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए।

नियमित दादुरा रुबेला विरुद्धको खोप लगाइसकेका बालबालिकालाई पनि यस विशेष खोप कार्यक्रममा सहभागी गराउन अभिभावकलाई सूचनामार्फत आग्रह गरिएको शाखा प्रमुख साहले बताए। 

नेपालमा उन्मूलन भइसकेको घोषणा गरिएको दादुरा देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चासो देखाएका छन्। चिकित्सकका अनुसार निकै सङ्क्रामक मानिने दादुरा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने गर्दछ।

दादुरा लागेको बालबालिकामा सुरुमा उच्च ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, आँखाबाट पानी बग्ने, तीनदेखि पाँच दिनपछि अनुहार तथा शरीरका विभिन्न भागमा खटिरा आउनेलगायत लक्षण देखिने चिकित्सकको भनाइ छ। 

एकजना दादुरा सङ्क्रमितले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाच्छ्युँ गर्दा, खोक्दा, सङ्क्रमित व्यक्तिले नाकमुख छोपेर हात नधुँदा सजिलै सर्न सक्छ।

बालबालिकामा धेरै देखिने दादुरा सङ्क्रमण जुनसुकै उमेरका व्यक्तिलाई पनि सर्न सक्ने तथ्याङ्कले देखाएको छ । दादुराबाट बच्न बालबालिकालाई नौ महिना र १५ महिनामा दुई पटक खोप लगाउने गरिन्छ। खोप लगाउन छुटेका बालबालिकालाई यो रोग लाग्ने जोखिम उच्च हुने चिकित्सकको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad