समाज


मधेस प्रदेशसभा सदस्य ललिता दासमाथि मध्यराति लहानमा लुटपाट र हमलाको प्रयास, भागेर जोगाइन् ज्यान

मधेस प्रदेशसभा सदस्य ललिता दासमाथि मध्यराति लहानमा लुटपाट र हमलाको प्रयास, भागेर जोगाइन् ज्यान

नेपालखबर
असार १८, २०८२ बुधबार ९:५१, काठमाडौँ

मधेस प्रदेशकी सांसद तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य ललिता दास (तत्मा)ले आफूमाथि गएराति एक समूहले सिराहाकाे लहानमा लुटपाट र हमलाको प्रयास गरेको बताएकी छन्। 

गएराति साढे १२ बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा लहान चोकमै आफूलाई दुई युवाले लखेटेर हातपातको प्रयास गरेको भन्दै उनले सामाजिक सञ्जालमा घटनाविवरण सार्वजनिक गरेकी छन्। 

घर नजिकै भएको र हल्लाखल्ला गर्दै भागेकाले आफू उनीहरूको लुटपाट र हमलाबाट जोगिन सकेको उनको भनाई छ।

‘हिजो अध्यक्ष उपेन्द्र यादव जनकपुर आउनु भएको थियो, हामी उहाँलाई भेट्न गएका थियौँ,’ तत्माले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘लहान घर फर्किंदा ढिलो भयो। घर नजिकै लहान चोकमा राति साढे १२ बजेतिर मलाई दुई युवाले पछ्याउँन थाले। उनीहरुले लखेट्न थालेपछि म भागेँ। घर नजिकै पुगिसेकाले उनीहरुले मलाई भेट्न सकेनन्।’

घटनाको विषयमा आफूले लहानका डीएसपी कैलाश राई र जिल्ला प्रहरी कार्यालय सिराहाका एसपीलाई पनि जानकारी गराएको पनि उनले बताइन्। 

जनकपुरमा अध्यक्ष यादवलाई भेटेर राति जसपाकै अर्का सांसद राजकुमार गुप्ता, जिल्ला समन्वय समितिका सभापति दिनेशकुमार महतो, लहान नगर कमिटीका अध्यक्ष रामउद्गार महतो / इन्जिनियर बैजनाथ प्रसाद साहसँगै सांसद् तत्मा लहान फर्किएकी थिइन्। 

राति साढे १२ बजे लहान चोकमा गाडीबाट ओर्लिएर त्यहाँबाट डेढसय मिटर नजिकै रहेको घरमा हिँडेर जाने क्रममा दुई केटाले आफूलाई हातपातको प्रयास गरेको उनको भनाई छ। उनीहरुले लखेट्न थालेपछि आफूले पति शोभाकान्त दासलाई फोन लगाएको र हल्लाखल्ला गर्दै दाैडिएकाले उनीहरुकाे पञ्जाबाट जाेगिन सकेको उनले बताइन्। 

‘राति करिब १२ः३० मा म जनकपुरबाट लहान घर आउँदा एनएमबी बैंकको गल्लीमा अपरिचित दुई जना केटाले मलाई लुटपाट र हमला गर्नेगरि लखेटेका छन्। धन्य समयमा मेरो परिवारले ढोका खोलिदिए र ज्यान जोगाउन सफल भएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आखिर के हुँदैछ हाम्रो देशमा किन यति भय, त्रास दिँदैछन हामीलाई? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ। प्रहरी थानाको नजिक मेरो घर छ, तर पनि यति असुरक्षित। केही महिना पहिला एकजनामाथि मेरै घर अगाडि छुरा प्रहार भएको थियो। आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ। कसरी बाँच्ने? डीएसपीलाई खबर गर्दा पनि बेवास्ता गर्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad