समाज


मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु

९ सय जना घाइते, रु ५६ करोड ६७ लाख २४ हजार २ सय १२ बराबरको आर्थिक क्षति
मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु

नेपालखबर
जेठ २६, २०८२ सोमबार ६:२८, महोत्तरी

मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्मा परेर ४ सय २२ जनाको ज्यान गएको छ।

बर्दिबासमा आइतबार मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जानकारी दिइएको हो। 

साना ठूला गरी यस अवधिमा दुई हजार २ सय ५८ विपद्का घटना घटेकामा ९ सय जना घाइते र रु ५६ करोड ६७ लाख २४ हजार २ सय १२ बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ।

प्रदेशका आठ वटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण बर्खाजन्य विपद्को जोखिममा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आङ्कलन छ । यो सङ्ख्या प्रदेशका ५२ हजार ३३१ परिवारको रहेको प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले स्पष्ट पारे।

महोत्तरी, धनुषा र सर्लाही तीन जिल्लालाई समेटेर गरिएको कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिवसहितका अधिकारी, प्रदेशस्थित  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। विपद् प्रतिकार्य र उद्धारमा सरिक हुँदै आएका सामाजिक सङ्घसंस्थाका अधिकांश अगुवाहरूले विपद् लापरबाही र अटेरीपनले पनि हुने गरेका टिप्पणी गरे। 

विकास योजना सञ्चालन गर्दा विपद् संवेदनशीलता नअपनाइने सहभागीहरूले टिप्पणी गरे। 

मधेसमा डुबान, कटानजस्ता विपद् सडक बनाइँदा बन्द गरिएका ढल, पानीको प्राकृतिक निकास अवरुद्ध र इँटा, बालुवा, ढुङ्गा र फलामे छड जथाभाबी राखिने क्रमले पनि हुने गरेको जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए। महोत्तरीका सात वटा स्थानीय तह सधैँ बर्खा सुरु हुनासाथ कटान र डुबानको जोखिममा रहने गरेका उनको भनाइ छ। 

विपद्का प्रकृति, अवस्था र निदानका उपायबारे स्थानीय तहले नै प्रारम्भिक नक्साङ्न गरेर जिल्लास्थित विपद् व्यवस्थापन समिति, प्रादेशिक र सङ्घीय सरकारमा पहलकदमी लिन पर्नेमा त्यस्तो हुन नसकेको सहभागीको गुनासो गरेका थिए। 

प्रदेशमै विपद् पूर्वतयारका काम खासै नभएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको स्वीकारोक्ति छ । यसअघि यस्तो प्रयास भएको नपाइए पनि जनधनको सुरक्षार्थ यसपालि बर्खा पूर्व योजनाबद्ध तयारी थालिएको उनले जानकारी दिए। 

आगामी  आर्थिक वर्ष २०८२र०८३ को बजेटमा विपद् बचाबका कार्यक्रम समावेश गरिने, प्रतिकार्य र उद्धार प्रभावकारी बनाउन कार्य योजना बनाइने उनले प्रतिबद्धता जनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad