समाज


परीक्षा केन्द्र परिवर्तन गरिएपछि सिराहा क्याम्पसका विद्यार्थी सडकमा

चलखेल गरेर परीक्षा केन्द्र ५० किलोमिटर टाढा पुर्‍याइएको आरोप
परीक्षा केन्द्र परिवर्तन गरिएपछि सिराहा क्याम्पसका विद्यार्थी सडकमा

नेपालखबर
जेठ ३, २०८२ शनिबार ७:४७, विराटनगर

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र अन्यत्र सारेको भन्दै सिराहाका सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसका विद्यार्थी विरोधमा उत्रिएका छन्। 

यही जेठ ५ गतेदेखि सञ्चालन हुने स्नातक तह अन्तर्गत विभिन्न संकायका परीक्षाका लागि सिराहा क्याम्पसको परीक्षा केन्द्र झन्डै ५० किलोमिटर टाढा सारिएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन्। विभिन्न चलखेल तथा षड्यन्त्रका कारण परीक्षा केन्द्र ५० किमी टाढा पुर्याइएको आरोप विद्यार्थीले लगाएका छन्। 

सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई दुःख दिने तथा विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्नेगरी परीक्षा केन्द्र टाढा लगिएको भन्दै आपत्ति जनाएको छ।

‘परीक्षार्थीलाई परीक्षामा सहभागी हुन असहज हुने हुने गरी त्रिविद्वारा गरिएको यस विभेदपूर्ण कार्यप्रति स्वतन्त्र विद्यार्थी युनियन सिराहा घोर आपत्ति जनाउँदछ’, विज्ञप्तिमा भनिएको छ।

स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको सिराहा बहुमुखी क्याम्पसमा सम्बन्धनप्राप्त क्याम्पसको परीक्षा केन्द्र हुनु पर्नेमा क्याम्पसको गरिमामा आँच आउने गरी सामुदायिक क्याम्पसमा परीक्षा केन्द्र कायम गर्नु दुखद भएको जनाएको छ।

स्वतन्त्र विद्यार्थी युनियन सिराहा क्याम्पसका सभापति पृथ्वी कुमार यादवले क्याम्पसको परीक्षा केन्द्र यसै क्याम्पसमा तोक्ने गरी भएको सहमतिलाई समेत उल्लङ्घन गर्दै बदनियतपूर्वक परीक्षा केन्द्र जेएस मुरारका  क्याम्पसमा तोकिएकाले आन्दोलन गर्नुपरेको बताए।

‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकले आर्थिक प्रलोभनमा परी क्याम्पस प्रमुखको मिलेमतोमा परिवर्तन गरिएको परीक्षा केन्द्र संशोधन गर्न हिजो ९जेष्ठ २ गते० सम्मको समय दिएका छौँ, आज बिहानसम्म पनि कुनै पनि काम भएको छैन,’ उनले भने, ‘आजदेखि अनिश्चितकालीन क्याम्पसमा तालाबन्दी गर्ने तथा क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गर्ने गरी आन्दोलन कार्यक्रम घोषणा गरेका छौँ।’

यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मा परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख तथा क्याम्पस प्रशासनले नै लिनुपर्ने विद्यार्थीको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक, सिरहा क्याम्पसका प्रमुख र त्रिभुवन विश्वविद्यालयका अन्य नेतृत्वको नैतिकतामाथि नै विद्यार्थीले प्रश्न उठाएका छन्।

यसअघि क्याम्पस प्रशासन तथा विद्यार्थी सङ्गठनहरूसँग भएको छलफलपछि परीक्षा केन्द्र सिराहा क्याम्पसमा नै राख्ने गरी भएको सहमतिको समेत उल्लङ्घन भएको विद्यार्थीको ठहर छ।

विद्यार्थीले शनिबार बिहान सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।

उनीहरुले शुक्रबार साँझ पनि सिराहामा केहीबेर चक्काजाम गरेका थिए। सडक अवरुद्ध गर्दै विद्यार्थीले क्याम्पसको परीक्षा केन्द्र सिराहामा नै राख्नुपर्ने माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad