समाज


मुख्यमन्त्री सिंहद्वारा विभिन्न सात अस्पताल अनुगमन

मुख्यमन्त्री सिंहद्वारा विभिन्न सात अस्पताल अनुगमन

नेपालखबर
चैत ३, २०८१ आइतबार २०:५७, राजविराज

मापदण्डविपरीत सञ्चालन भइरहेका निजी अस्पतालविरुद्ध आक्रामक रूपमा उत्रिएका मधेश प्रदेशका मुख्यमन्त्रीले आज आइतबार पनि राजविराजका विभिन्न सात वटा अस्पताल अनुगमन गरेका छन्। 

मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनका क्रममा स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिएको राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिए। 

यस्तै राजविराजमा सञ्चालन हुँदैआएको भारती इमेजिङ सेन्टरलाई सेवा सञ्चालन अनुमतिपत्र नरहेकाले बन्द गर्न निर्देशन दिएका प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले जानकारी दिए। 

स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेका तर मापदण्ड पूरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।

सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताल नवीकरण नगरिएकाले दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ। यसैगरी २ सय शय्याको छिन्नमस्ता अस्पताललाई सरसफाइमा ध्यान दिन र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको सेवा गुणस्तर बढाउन तथा उचित जनशक्ति व्यवस्थापनमा ध्यान दिन मुख्यमन्त्री सिंहले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका सदस्यसचिव ठाकुरले बताए। 

संघ सरकारमातहत सञ्चालित गजेन्द्रनारायण सिंह अस्पतालमा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेका, बिदा स्वीकृति नगरी केही जनशक्ति अनुपस्थित रहेका र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी कमी आएको जस्ता समस्या देखिएका छन्।

मुख्यमन्त्री सिंहले सो अस्पतालमा देखिएका समस्या समाधानका लागि संघीय स्वास्थ्यमन्त्रीसँग आग्रह गरिने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad