समाज


चिसो बढेपछि मधेसको जनजीवन प्रभावित

चिसो बढेपछि मधेसको जनजीवन प्रभावित

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १२:६, महाेत्तरी

लगातार चिसो सिरेटोसँगै चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशका जिल्लामा जाडो निकै बढेको छ। 

मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको हो। ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन’, बर्दिबास–१३ का किसान ठकाइ महतो भन्छन्, ‘पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ।’

चिसोले कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । महोत्तरीसहितका मधेशका जिल्लामा पूर्व–पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ किसान रहिमन मण्डल बताउँछन्। 

मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ । उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपरान्हसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन्। अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर–२ की शिला यादवको भनाई छ। 

मङ्सिरभित्रै बढेको चिसोले घरपालुवा पशुवस्तुको विजोग बन्दैछ । पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भङ्गाहा–४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ । धेरै बढेको चिसोले पशुवस्तु जिङ्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताए

 यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन् । अहिले मङ्सिर नसकिँदै चिसोले घर बाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ।

 खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुदिप ठाकुरले बताए। 

यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन् । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन्।

यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपाली हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरे।

पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै आज बिहानैदेखि चिसो बढेको छ । दिउँसोको समयमा विगत एक सातादेखि मधुरो घाम लाग्दै आएको छ भने अहिले बिहानैदेखि हुस्सु लागेको हो। 

पूर्वी तराईमा घाम लाग्न छाडेपछि शीतलहर सुरु हुने गर्दछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ । महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई–मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ।

 चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाह्य, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोले बिहान स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि चिसो बढेकाले ढिलो गरी खुलिरहेका सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले जानकारी दिए। 

उनले साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार चाँडैै सुनसान हुन थालेको उल्लेख गरे । यहाँ न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्गिदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक सुन्दरहरैँचाका अशोक रिजाल बताउँछन्। 

चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा  बढेका छन् । बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने  हवाई उडान  खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad